तीन दिन तातो लहरको जोखिम, १४ जिल्ला उच्च सतर्कतामा

काठमाडौं, २२ जेठ ।

जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै तराईका विभिन्न जिल्लाका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार बिहीबार भैरहवामा ४१ डिग्री सेल्सियस तथा नेपालगञ्जमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

महाशाखाले मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा मध्यम स्तरको तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा तातो हावा चल्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न आग्रह गरिएको छ ।

विभागका अनुसार तातो हावा तथा तातो लहरका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा, टाउको दुख्ने, चक्कर आउने, मांसपेशी दुख्ने, बान्ता हुने वा बेहोस हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ।

गर्मीबाट जोगिन दिउँसोको अत्यधिक गर्मीमा घरभित्र वा चिसो स्थानमा बस्ने, चर्को घाममा अनावश्यक बाहिर ननिस्किने, हल्का र सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टोपी प्रयोग गर्ने तथा पर्याप्त मात्रामा पानी, जुस र झोल पदार्थ सेवन गर्न विभागले सुझाव दिएको छ । स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि आग्रह गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट