कावासोती, ३ जेठ ।
लामो समयदेखि निर्माणमा ढिलाइ हुँदा यात्रुका लागि सास्तीको कारण बनेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागले जनाएको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार मुख्य संरचनात्मक कामहरू अधिकांश सम्पन्न भइसकेका छन् भने अब फिनिसिङ, ट्राफिक सुरक्षासम्बन्धी काम, सर्भिस लेन तथा केही सहायक संरचनाको निर्माण मात्र बाँकी रहेको छ ।
उनले नारायणगढ–बुटवल सडक लामो समयदेखि यात्रुका लागि समस्याग्रस्त रहे पनि अब निर्माण अन्तिम चरणमा पुगेकाले विगतका वर्षामा जस्तो समस्या दोहोरिने अवस्था नरहेको बताए ।
विशेषगरी वर्षायाममा अत्यधिक जाम र यातायात अवरोधका कारण चर्चामा रहने दाउन्ने क्षेत्रमा अहिले एकतर्फी दुई लेनको ‘रिपेभमेन्ट’ सम्पन्न भइसकेको छ भने तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । जेठ १५ भित्र मुख्य काम सम्पन्न गर्ने लक्ष्य रहेको विभागले जनाएको छ ।
निर्माण ढिलाइका कारण वर्षौंदेखि यात्रुले धुलो, हिलो र लामो जामको समस्या झेल्दै आएका थिए । विभागले अब अधिकांश जटिल काम सम्पन्न भइसकेकाले आगामी वर्षामा दाउन्ने क्षेत्रबाट सहज आवागमन हुने अपेक्षा गरेको छ ।





