भरतपुर, ५ वैशाख ।
कवि गौरी तमूको नयाँ कवितासङ्ग्रह ‘सैँप्रोल’ माथि केन्द्रित साहित्यिक कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा शनिबार भएको कार्यक्रममा कवितावाचनसँगै कृतिमाथि समीक्षात्मक विमर्श गरिएको थियो ।
कार्यक्रममा स्रस्टा तमूले आफ्नो पहिलो कृति ‘समैँ दर्वानी’ मुक्तकसङ्ग्रह तथा हालै प्रकाशित ‘सैँप्रोल’ बाट मुक्तक र कविता प्रस्तुत गरिन् । उनका रचनामा प्रकृति, पहिचान, संस्कार र समकालीन जीवनका अनुभूति मुखरित भएको सहभागीहरूले बताए । उनले केही सिर्जना गुरुङ भाषामै प्रस्तुत गर्दा कार्यक्रम थप आकर्षक बनेको थियो ।
‘सैँप्रोल’ कवितासङ्ग्रहले व्यक्तिगत अनुभूति र सामुदायिक संवेदनालाई समेट्दै भाषिक तथा सांस्कृतिक विविधताको अभिव्यक्ति दिएको समालोचकहरूले उल्लेख गरेका छन् । समालोचक रमेश प्रभातले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै तमूको लेखनमा मौलिकता र भावनात्मक गहिराइ रहेको बताए ।
कार्यक्रममा धनराज गिरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पत्रकार तुलमान गुरुङ, नेपाली लेखक सङ्घ चितवनकी अध्यक्ष शान्ति शर्मा, कवि मेनका चापागाईं र वार्ताकार उदय अधिकारीले कृतिका विभिन्न पक्षबारे टिप्पणी गर्दै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी साहित्यप्रेमीहरूले यस्ता कार्यक्रमले नयाँ स्रष्टाको सिर्जना पाठकमाझ पुर्याउन र साहित्यिक बहसलाई जीवित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रमलाई लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।




