काठमाडौं, ११ चैत ।
चैत शुक्ल अष्टमीदेखि सुरु हुने काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ‘सेतो मत्स्येन्द्रनाथको रथ यात्रा’ को तयारी यतिबेला उत्कर्षमा पुगेको छ । जमलस्थित तीनधारा पाठशाला अगाडि कालीगढ र स्थानीयवासीको सक्रियताले व्यस्त शहरमा छुट्टै धार्मिक रौनक थपिएको छ ।
सेतो मत्स्येन्द्रनाथको रथ निर्माणमा आधुनिक मेसिनरीभन्दा परम्परागत सीप र सामग्रीकै प्रयोग गरिएको छ। करिब ३२ फिट अग्लो शिखर शैलीको रथ निर्माणमा प्रयोग गरिएका ठूला काठका बिम, बलिया लठ्ठा र बाँसका भाटाले पुर्खाको इन्जिनियरिङ सीपको झल्को दिन्छन् । कालीगढहरू कुनै सुरक्षा उपकरणबिना नै रथको माथिल्लो भागसम्म पुगेर डोरीले काठ बाँधिरहेका दृश्य आकर्षक र साहसिक देखिन्छन् ।
रथको मुख्य आकर्षणका रूपमा स्वर्णलेपन गरिएका धातुका पाता र काठका बुट्टा रहेका छन्। रथका विभिन्न भागमा बुद्ध, लोकेश्वर तथा अन्य देवी–देवताका आकृतिसहितका धातुका पाता जडान गरिँदै छन् । यी कलाकृतिहरूले नेवार समुदायको समृद्ध धातुकला र धार्मिक आस्थालाई प्रतिबिम्बित गर्छन् ।
रथका पाङ्ग्रामा कोरिएका ‘आँखा’ अर्को विशेष पक्ष हुन् । ती पाङ्ग्रालाई भैरवको प्रतीकका रूपमा लिइन्छ, जसले यात्राका क्रममा अवरोध नआओस् भन्ने विश्वास व्यक्त गर्छ । चहकिला रातो र नीलो रङका आकृतिले रथलाई थप जीवन्त बनाएका छन् ।
रथ निर्माण स्थलमा ज्येष्ठ नागरिकदेखि युवासम्मको सक्रिय सहभागिताले यो पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई पुस्तान्तरण हुँदै आएको सांस्कृतिक धरोहर भएको पुष्टि गर्छ । कोही डोरी मिलाइरहेका छन्, कोही काठ ताछिरहेका छन् भने कोही धातुका सामग्रीको अवस्था जाँचिरहेका छन् । सबैको अनुहारमा परम्परा जोगाउने दृढ संकल्प झल्किन्छ ।
सेतो मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पूजा गरिन्छ । जमलबाट सुरु हुने रथ यात्रा असन, हनुमानढोका र लगन हुँदै मत्स्येन्द्रबहाल पुगेर समापन हुन्छ। तयारीका क्रममा देखिएका दृश्यहरूले अब केही दिनमै काठमाडौंका सडकमा आस्थाको रथ गुड्ने संकेत गरेका छन् । हजारौं भक्तजनले ‘लोकेश्वर’ को आशीर्वाद लिने यस जात्राले सांस्कृतिक पर्यटनसँगै समुदायबीचको एकता र सद्भावलाई पनि सुदृढ बनाउँदै आएको छ ।





