हेटौंडा, ८ चैत ।
हेटौंडा-१०, स्थित टिसीएन चौरमा जारी राष्ट्रिय दोस्रो बृहत् खेलको, कृषि तथा पर्यटन महोत्सवमा भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौंको चन्द्रगिरी नगरपालिकाको न्यू डायमण्ड क्लबले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३-० को सोझो सेटले हराउँदै चन्द्रगिरी नगरपालिकाको न्यू डायमण्ड क्लबले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
न्यू डायमण्ड क्लब यस अघिको महोत्सवमा भएको प्रतियोगिताको उपविजेता पनि हो । आइतबार भएको फाइनल खेलमा केशवलाल स्मृति प्रतिष्ठानलाई २५-१३, २५-१५ र २५-२३ को सेटले पराजित गरेको हो ।
समूह ए बाट लिगको २ खेल खेलेको न्यू डाइमण्ड र समूह बी बाट लिगको २ खेल खेलेको केशवलाल विजेता बनेर फाइनल सम्म पुगेको आयोजक समितिका नरेन्द्र मोक्तानले जानकारी दिएका छन् । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उपाधि विजेता न्यू डायमण्डको टिमले ३ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता केशवलालको टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, सेमीफाइनलमा पराजित भएका लुम्बिनी प्रदेशस्थित पाल्पा जिल्लाको स्टेप भलिबल क्लब र मधेश प्रदेशको जनशक्ति युवा क्लबको टिमले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै न्यु डायमण्ड क्लबकी सुनिता क्षेत्रीले १० हजार रुपैयाँको नगद पुरस्कार र मेडल प्राप्त गरेकी छिन् । उत्कृष्ट स्पाइकर न्यू डायमण्डकी जेनिशा विश्वकर्मा, उत्कृष्ट डिफेन्डर एञ्जीला प्रधान, उत्कृष्ट सेटर न्यू डायमण्डकी भावना तामाङ, उत्कृष्ट सर्भर केशवलाल प्रतिष्ठानकी रेबिका लामा, उत्कृष्ट ब्लकर केशवलालकी सलिना गुरुङ र उत्कृष्ट प्रशिक्षक न्यू डायमण्डकी कुमार राई घोषित भएका छन् । उनीहरुले जनही ५/५ हजार रुपैयाँको नगद पुरस्कार र मेडल प्राप्त गरेकी छिन् ।
बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मन्त्री मदुसुदन पौडेलको प्रमुख आतिथ्यमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षमा पुरस्कार वितरण भएको थियो । पुरस्कार वितरण कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका सदस्य सचिव दीपक लामा, जिल्ला खेलकुद सदस्य मदन उप्रेतीको उपस्थिति रहेको थियो । खेलकुद महोत्सवमा अन्तिम खेल राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता बुधबारदेखि शुक्रबार सम्म सचालन हुने आयोजकले जानकारी दिएका छन् ।
आइतबार बिहान भएको भलिबल प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा लुम्बिनी प्रदेशस्थित पाल्पा जिल्लाको स्टेप भलिबल क्लबलाई २५-१६, २५-७ र २५-२० को सेटले पराजित गर्दै केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान फाइनलमा प्रवेश गरेको थियो भने शनिबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई २५-१०,२५-१४ र २५-१८ को सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।





