काठमाडौं, २८ फागुन ।
बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि सरकारले उपभोक्तालाई आधा सिलिन्डर वितरण गर्ने विकल्पबारे छलफल सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अनिलकुमार सिन्हाका अनुसार उपभोक्तासम्म ग्यासको पहुँच बढाउन १४.२ केजीको सट्टा ७.१ केजी ग्यास भरेर सिलिन्डर बिक्री गर्ने विषयमा मन्त्रालयमा विचार भइरहेको छ ।
यस सम्बन्धमा अन्तिम निर्णय मन्त्रिस्तरीय बैठक वा नेपाल आयल निगमको सञ्चालक समितिबाट हुने बताइएको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले ग्यास आपूर्ति सहज बनाउन आधा सिलिन्डर वितरणको विकल्पमाथि छलफल भइरहेको जानकारी दिएका छन् ।
निगमका अनुसार देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर प्रयोगमा छन् । हाल १४.२ केजी ग्यास भरेर बिक्री हुँदै आएको भए पनि नयाँ निर्णय लागू भए उपभोक्ताले आधा मूल्य तिरेर ७.१ केजी ग्यास प्राप्त गर्न सक्नेछन् । यस्तो व्यवस्था लागू भए ग्यासको वितरणलाई केही सहज बनाउने अपेक्षा गरिएको छ ।





