मकवानपुर, २८ फागुन ।
मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवन गरेर झगडा गरिरहेको अवस्थामा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् भने दुई जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बेलुका करिब ९ बजे पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । सोधपुछका क्रममा तामाङमाथि बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरिएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । आक्रमणबाट तामाङका दुवै हातमा चोट लागेको छ ।
आत्मरक्षाका लागि प्रहरी सहायक निरीक्षक तामाङले साथमा रहेको पेस्तोलबाट एक राउन्ड फायर गर्दा हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडा बस्ने अन्दाजी १९ वर्षीय सनिस तितुङ घाइते भएका हुन् । उनको पेटको दाहिने भागमा गोली लागेको छ । तितुङको सिएमसी चुरेहिल अस्पताल, हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच घटनामा संलग्न हेटौंडा–१२ रमनटार बस्ने २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





