घरदैलोमा ‘जनताको उम्मेद्वार’ मीना खरेललाई अपार साथ

चितवन, १४ फागुन ।
निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर–२ मा उम्मेदवार मीना खरेलको घरदैलो अभियान दिनप्रतिदिन उत्साहजनक बन्दै गएको छ । खरेल प्रत्यक्ष रूपमा मतदाताको घर–घर, गाउँ–टोल, बजार तथा विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएकी छन् । उनी जहाँ पुग्छिन्, त्यहीँ स्थानीय बासिन्दाबाट आत्मीय स्वागत, माया र समर्थन प्राप्त भइरहेको छ ।

विगतदेखि समाजसेवामा निरन्तर सक्रिय रहँदै आएकी खरेलले समाजमा पुर्‍याएको योगदानकै कारण मतदाताबाट व्यापक साथ, हौसला र आशीर्वाद पाइरहेको बताइन्छ । निर्वाचन घोषणा भएयता उनी दिनरात नभनी क्षेत्रका विभिन्न स्थानमा पुगेर मतदाता भेटघाटमा व्यस्त छिन् ।

यसै क्रममा आज उनले इच्छाकामना गाउँपालिकाको मुग्लिन बजार, केवलकार बजार, भरतपुर–२९ सिमताल र भतेरी लगायतका स्थानमा घरदैलो कार्यक्रम सञ्चालन गरिन् । कार्यक्रममा हजारौँ मतदाताको उपस्थिति रहेको जनाइएको छ ।

उनको अभियानमा महिला, युवा तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । स्थानीय बासिन्दा भन्छन्, “उहाँ हाम्रो सुख–दुःखमा साथ दिनुहुन्छ, त्यसैले हामी पनि उहाँलाई साथ दिन तयार छौं।” यही आत्मीय सम्बन्धका कारण धेरैले उनलाई ‘जनताको उम्मेद्वार’का रूपमा चिन्ने गरेका छन् ।

घरदैलोका क्रममा एक मतदाता भावुक हुँदै भनिन्, “मीना दिदीलाई मैले लामो समयदेखि देख्दै र बुझ्दै आएको छु । उहाँ चितवनकी छोरी मात्र होइन, सबैकी अभिभावकजस्तै हुनुहुन्छ। गरिब, दुःखी र असहायको सहयोगका लागि उहाँको जित आवश्यक छ, त्यसैले हामी बहुमतसहित जिताउनेछौं ।”

मतदाताबाट पाएको अपार माया र समर्थनले आफू भावुक बनेको खरेलले बताइन्। “मैले कल्पना नगरेका व्यक्तिहरूको उपस्थितिले ठूलो हौसला दिएको छ । यही विश्वास र साथले हाम्रो जित सुनिश्चित भएको महसुस गरेकी छु। तपाईँहरूले राख्नुभएको भरोसा कामबाट प्रमाणित गर्नेछु,” उनले भनिन् ।

राजनीतिलाई सेवा र जिम्मेवारीका रूपमा लिँदै आएकी खरेलले विकासका एजेन्डामा सबै पक्षसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् । “म पदका लागि होइन, परिवर्तनका लागि उठेकी हुँ,” उनले स्पष्ट पारिन् । निर्वाचन मिति नजिकिँदै जाँदा उनको अभियान झन् तीव्र र उत्साहपूर्ण बन्दै गएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट