समर्थनको लहरसँगै अघि बढ्दै मीना खरेल

चितवन, १३ फागुन ।
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चितवन जिल्ला क्षेत्र नम्बर २ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । मतदानको मिति आउन अब आठ दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएकी छन् । घरदैलो, कोणसभा तथा भेटघाट कार्यक्रममार्फत उनी मतदातासम्म सक्रिय रूपमा पुगिरहेकी छन् ।

फागुन १३ गते भरतपुर महानगरपालिका–४ मा सम्पन्न घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो । हजारौंको संख्यामा नेता–कार्यकर्ता तथा स्थानीय समर्थकहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले क्षेत्रको चुनावी समीकरणलाई थप रोचक बनाएको छ । भरतपुर–४ स्वयं खरेलको बसोबास क्षेत्रसमेत भएकाले आफ्नै वडामा उनले पाएको समर्थनलाई विशेष चासोका साथ हेरिएको छ ।

भरतपुर–४ धर्मचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै खरेलले आफ्नै वडाबाट पाएको माया, साथ र समर्थनले आफू भावुक बनेको बताइन् ।
उनले भनिन्, “मैले कल्पना समेत नगरेका धेरै मान्छेहरू आजको घरदैलो र कोणसभामा उपस्थित भएर मलाई हौसला दिनुभयो। यही माया, विश्वास र साथले अब हाम्रो जित सुनिश्चित भएको महसुस गरेको छु । तपाईंहरूले राख्नुभएको भरोसालाई कामबाट प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। हृदयदेखि धन्यवाद ।”

उनको चुनावी अभियानमा समर्थन जनाउन पूर्व प्रहरी महानिरीक्षक रमेश खरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ, प्रदेश सभा सदस्य उत्तम जोशी तथा चितवन जिल्ला पार्टी सभापति राजेश्वर खनाल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै पूर्व डिआइजी रमेश खरेलले मीना खरेललाई आदर्श समाजसेवी नेतृका रूपमा चित्रण गर्दै चितवन–२ का मतदाताले ऐतिहासिक अवसर पाएको उल्लेख गरे ।
उनले भने, “लामो समयदेखि असहाय, पीडित महिला तथा बालबालिकाको आवाज बनेकी मीना खरेलजस्तो उम्मेदवार पाउनु चितवन–२ मात्र होइन, सिंगो राष्ट्रकै लागि गर्वको विषय हो। यो लडाइँ लोकप्रियताको होइन, सत्य र असत्यबीचको संघर्ष हो । यसमा चितवन–२ का जनता चुक्नु हुँदैन ।”

उनले खरेलले करिब चार दशकदेखि समाजसेवामा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै अब त्यो अनुभव र प्रतिबद्धता संघीय संसदमार्फत राष्ट्र निर्माणमा प्रयोग हुने विश्वास व्यक्त गरे । “यस क्षेत्रलाई जीवन समर्पित गरेकी नेत्रीलाई भोट नदिनु भनेको चितवन र यहाँका पीडित समुदायप्रतिको अन्याय हो,” उनले भने, “हामी ढुक्क छौँ, यसपटक चितवन–२ का मतदाताले सम्मानसहित भोट दिएर उहाँलाई विजयी गराउनुहुनेछ ।”

घरदैलो कार्यक्रमकै क्रममा भरतपुर–४ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा समर्थकहरूले खरेललाई फूलमालासहित भजनकीर्तन गरेर स्वागत गरेका थिए । स्थानीय महिला तथा युवाहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त स्वागत कार्यक्रमले चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको थियो । आफ्नै क्षेत्रकी निष्ठावान र कर्मशील व्यक्तित्व उम्मेदवार पाएको उल्लेख गर्दै स्थानीय बासिन्दाहरूले यसपटक पार्टीभन्दा माथि उठेर मीना खरेललाई मत दिने बताएका छन् ।

निर्वाचन मिति नजिकिँदै जाँदा चितवन–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा चर्किंदै गएको छ । तर भरतपुर–४ मा देखिएको उत्साहजनक सहभागिता र समर्थनले मीनाकुमारी खरेलको अभियान थप मजबुत बनेको स्थानीयहरूको भनाइ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट