पोखरा, ३ फागुन ।
शब्दालय, पोखराको शुभारम्भ प्रकाशन तथा आयोजनामा संयुक्त कृति ‘दामली अक्षर’ को लोकार्पण गरिएको छ । प्रणय दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा कृतिकारहरू लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी, दीपक समीप र जीवन सागर भण्डारीका धर्मपत्नीहरू क्रमशः मैया थापा, रीता अधिकारी ऋतु, शर्मिला श्रेष्ठ र मञ्जु भण्डारीले संयुक्तरूपमा कृतिको विमोचन गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरू सरुभक्त, तीर्थ श्रेष्ठ र रमेश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरे । शुभकामना व्यक्त गर्दै बिम्बकवि रमेश श्रेष्ठले अक्षरको शक्ति र सौन्दर्यको महिमा उजागर गर्दै ‘दामली अक्षर’ सफलताको शुभेच्छा व्यक्त गरे । साहित्यकार तीर्थ श्रेष्ठले नेपाली मुक्तक लेखन र वाचनमा पोखराको महत्वपूर्ण स्थानको चर्चा गर्दै यस सहकार्यले नेपाली मुक्तक तथा समग्र काव्य–साहित्यिक क्षेत्रमा नवीन ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।
सरुभक्तले नेपाली तथा विश्वसाहित्यमा संयुक्त कृति प्रकाशनको परम्परा र इतिहास स्मरण गराउँदै ‘दामली अक्षर’ र शब्दालयको सफलताको कामना व्यक्त गरे । उनले पोखराका आफ्ना चार प्रिय स्रष्टाहरू एउटै कृतिमा प्रस्तुत हुनु नेपाली मुक्तकमा पोखरेली पहिचानको सुन्दर प्रतिनिधित्व भएको धारणा राखे ।
स्रष्टाहरूका तर्फबाट डा. ईश्वरमणि अधिकारीले केही मुक्तक वाचन गर्दै शब्द सूक्ष्म देखिए पनि आफैंमा प्रकाश, शक्ति र सौन्दर्यको स्रोत भएको उल्लेख गरे । उनले मानवीय चेतनाको अभिव्यक्तिका लागि अक्षर हुँदै शब्दको जन्म भएको विचार राख्दै ‘दामली अक्षर’ लाई त्यही संवेदनाको समष्टिगत स्वरूपका रूपमा व्याख्या गरे ।
लक्ष्मण थापाले आफूलाई अपूर्ण र यात्रारत व्यक्तिका रूपमा चित्रित गर्दै अक्षर–आराधनालाई पूर्णतर्फको साधना बताए । दीपक समीपले मुक्तकका सौन्दर्य—स्पष्टता, सघनता, सूक्ष्मता, भावको तीक्ष्णता र अनुभूतिको तीव्रता—उल्लेख गर्दै ‘दामली अक्षर’ मा ती पक्षमा सजग प्रयास गरिएको बताए । जीवन सागर भण्डारीले लेखन–प्रकाशन यात्राका अनुभव सुनाउँदै अब ‘दामली अक्षर’ सम्पूर्ण दामली र शुभेच्छुकहरूको साझा कृति भएको उल्लेख गरे । शब्दालय अब सबै अक्षरजीवीहरूको साझा घर बन्ने उनको विश्वास थियो ।
लोकार्पण कार्यक्रममा प्रमुख अतिथिमध्ये एक कवि रीता अधिकारी ऋतुले दामलीहरूको सहयात्राले भविष्यमा अझ सार्थकता र सौन्दर्य प्राप्त गर्ने विश्वास व्यक्त गरिन् । दामलीहरूकै तर्फबाट कृति विमोचन गराएर नारी शक्तिलाई सिर्जना र संवेदनाको निरन्तरताको प्रतीकका रूपमा प्रस्तुत गरिएको उनले बताइन् ।
कार्यक्रम कवि अमृत क्षेत्रीले सञ्चालन गरेका थिए । साहित्य विमर्श, मुक्तक लेखन र पोखरेली काव्य–परम्पराप्रतिको सम्मान व्यक्त गर्दै उनले ‘दामली अक्षर’ र शब्दालय भविष्यमा काव्यिक बहस र चिन्तनको सशक्त थलो बन्ने विश्वास व्यक्त गर्दै सभाको समापन गरेका थिए ।



