मकवानपुरमा निर्वाचन चहलपहल, ३ लाख १५ हजार मतदाता

मकवानपुर, ३ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

हेटौँडा उपमहानगरपालिका–११ स्थित प्रादेशिक कृषि तरकारी थोक बजारको भवनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ र २ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लामा निर्वाचनसम्बन्धी कार्य सञ्चालन गर्न जिल्ला न्यायाधीश गीता श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता देवेन्द्रराज आचार्यलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ ।

मकवानपुरमा ३ लाख १५ हजारभन्दा बढी मतदाता
प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर जिल्लामा ३ लाख १५ हजार ३३४ मतदाताले मतदान गर्नेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लाको कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ पुगेको हो ।

प्रतिनिधिसभा निर्वाचन २०७९ पछि मकवानपुरमा १४ हजार ६०१ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तारा प्रसाद आचार्यका अनुसार सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकामा ७ हजार १६३ मतदाता थपिएका छन् । मनहरी गाउँपालिकामा १ हजार ४६८, थाहा नगरपालिकामा १ हजार ४१५, बकैया गाउँपालिकामा ८१७, बागमती गाउँपालिकामा ८४०, मकवानपुरगढी गाउँपालिकामा ७५४ र भीमफेदी गाउँपालिकामा ६९३ मतदाता थपिएका छन् ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिकामा ३७३, कैलाश गाउँपालिकामा ३६३ र राक्सिराङ गाउँपालिकामा २३५ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता संख्या वृद्धि भएसँगै जिल्लामा मतदान केन्द्र पनि थप गरिएको छ । साविकका १६७ मतदान स्थल कायम राख्दै १० वटा मतदान केन्द्र थप गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

मतदाता विवरणअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । जिल्लाभर कुल मतदातामध्ये महिला १ लाख ५३ हजार ३७६, पुरुष १ लाख ६१ हजार ९५३ र अन्य ५ जना रहेका छन् ।

अद्यावधिक तथा दाबी–विरोधको क्रममा निर्वाचन कार्यालयले ८८४ जनाको नाम मतदाता सूचीबाट हटाएको छ । मृत्यु भएका २१ जना र दोहोरो नाम रहेका ६८३ जनाको नाम हटाइएको कार्यालयले जनाएको छ ।

१९ मतदान स्थल अति संवेदनशील
मकवानपुरमा हाल १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र तोकिएका छन् । यसअघि जिल्लामा ३६४ मतदान केन्द्र रहेका थिए ।

निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर २ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्र रहेका छन् ।

जिल्लाका १९ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा १० स्थानीय तहमध्ये ६ स्थानीय तहका मतदान स्थल अति संवेदनशीलमा परेका हुन् । कुल १६७ मतदान स्थलमध्ये १९ अति संवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अति संवेदनशील मतदान स्थलमा २६ मतदान केन्द्र रहेका छन् ।

सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदान स्थल र ७ मतदान केन्द्र अति संवेदनशील रहेका छन् । राक्सिराङ गाउँपालिकामा ६ मतदान स्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदान स्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदान स्थल र १ मतदान केन्द्र अति संवेदनशील सूचीमा छन् ।

त्यस्तै, जिल्लामा ६० मतदान स्थल र १२३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् । संवेदनशील मतदान स्थलहरूमा हेटौँडा उपमहानगरपालिकाका ७ मतदान स्थल र ३१ मतदान केन्द्र, थाहा नगरपालिकाका ९ मतदान स्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाका १३ मतदान स्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाका ८ मतदान स्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाका ७ मतदान स्थल र १७ मतदान केन्द्र रहेका छन् ।

मकवानपुरगढी गाउँपालिकाका ४ मतदान स्थल र ७ मतदान केन्द्र, इन्द्रसरोवर गाउँपालिकाका २ मतदान स्थल र २ मतदान केन्द्र, भीमफेदी गाउँपालिकाका ४ मतदान स्थल र ४ मतदान केन्द्र, कैलाश गाउँपालिकाका ३ मतदान स्थल र ५ मतदान केन्द्र तथा मनहरी गाउँपालिकाका ३ मतदान स्थल र ८ मतदान केन्द्र पनि संवेदनशील सूचीमा परेका छन् ।

यसैबीच, निर्वाचन सुरक्षाका लागि भर्ना गर्न लागिएको निर्वाचन प्रहरीमा युवाहरूको आकर्षण देखिएको छ । मकवानपुरमा आवश्यक संख्याभन्दा बढी आवेदन परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार हालसम्म १ हजार ६०२ पुरुष र ६६४ महिला गरी कुल २ हजार २६६ जनाले आवेदन दिएका छन् । जिल्लामा १ हजार ९२३ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट