स्याङ्जा, १३ पुस ।
युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृतिको रूपमा १३१ वटा समसामयिक गजलहरुको सङ्ग्रह `रात्रि आकाश´को लोकार्पण एवम् वालिङ गजल उत्सव- २०८२ सम्पन्न भएको छ ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्ष प्रवेशको पूर्व सन्ध्यामा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३८ औँ पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्वको विशेष अर्थ राख्ने आधुनिक नेपाली मौलिक गजल लेखन अभियान विशेष कार्यक्रमको रूपमा आयोजना गरिएको रात्रि आकाश गजल कृति लोकार्पण एवम् वालिङ गजल उत्सव- २०८२ शनिबार दिउँसो वालिङ-८, बि.पी. चोकस्थित शुभम पार्टी प्यालेसको सभाहलमा अत्यन्तै सम्पन्न गरिएको थियोे ।
गजलकारकी आमा प्रेमकान्ति ढकालको अध्यक्षता तथा चर्चित युवा गजलकार व्यक्तित्व बाबू त्रिपाठीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रात्रि आकाश गजल कृतिको लोकार्पणपश्चात् गजल कृति र गजलकार गुरुप्रसाद ढकालको गजल लेखनमाथि केन्द्रित रहेर वक्ताद्वय सीता गौडेल गैह्रे र राहुल शङ्करद्वारा समीक्षात्मक मन्तव्य प्रस्तुत गरिएको थियोे भने गजलकार गुरुप्रसाद ढकालद्वारा गजलीय मन्तव्य प्रस्तुत गरिएको थियोे ।
गल्याङ नगरपालिका- ११, लबरकोट, स्याङ्जामा असोज ३१ गतेका दिन बुवा तोलाकान्त ढकाल र आमा प्रेमकान्ति ढकालको कोखबाट जन्मिएका युवा गजलकार गुरुप्रसाद ढकाल हाल जानकी माध्यमिक विद्यालय, गल्याङ- ९, अमिलाथुम, स्याङ्जामा शिक्षण पेशामा कार्यरत रहेर आधुनिक नेपाली मौलिक गजल लेखन अभियानमा विशेष रूपमा क्रियाशील छन् । ढकाल जगत्रदेवी साहित्य सङ्गम, गल्याङका सह- सचिव हुन् ।
वालिङ बहुमुखी क्याम्पसबाट स्नातक (बिएड) र नेपाल कमर्स क्याम्पस, मीनभवन, काठमाडौँबाट स्नातकोत्तर (एमबिएस) तहसम्मको औपचारिक अध्ययन पूरा गरेका गुरुप्रसाद ढकालको रात्रि आकाशगजल कृति पहिलो साहित्यिक कृति हो । नेपाली लेखक सङ्घ स्याङ्जाद्वारा प्रकाशित र युवा स्रष्टा मिलन समीरद्वारा सम्पादन गरिएको प्रस्तुत गजल कृतिमा जम्मा १३१ वटा समसामयिक गजलहरु समावेश गरिएको छ ।
हुमनाथ ढकालद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा गरिएको थियोे ।
कार्यक्रमको दोस्रो चरण अर्थात् वालिङ गजल उत्सव- २०८२ को सन्दर्भमा स्रष्टाहरु दिलीप मगर, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सिर्जना खनाल, पूजा रेग्मी, गजल यात्री एसी, सरस्वती अर्याल काफ्ले, नेत्र अधिकारी, लोकनाथ भण्डारी, प्रेमबन्धु सुवेदी, चण्डिकाप्रसाद भट्टराई, लक्ष्मीप्रसाद भण्डारी, अनिषा तिवारी, झवनाथ बस्याल, रेशमलाल डुम्रे, राजु गैह्रे, विनुप्रसाद पराजुली, देवराज गैह्रे, पारिश्वर न्यौपाने, शम्भु अर्याल, वसन्त खनाल, मित्रलाल गौतम, हिमालयजंग बानियाँ, नारायण न्यौपाने, ढालबहादुर के.सी., भोजकुमारी पाण्डे, लेखनाथ काफ्ले, डोलराज भण्डारी, डिल्लीराम भण्डारी, कुसुम भण्डारी लगायतद्वारा आफ्ना उत्कृष्ट सिर्जनाहरु प्रस्तुत गरिएको थियोे ।
समारोहमा गजलकारकी आमा प्रेमकान्ति ढकाल, गजलकारकी अर्धाङ्गिनी कमला गैह्रे ढकालका बुबा- आमा, बाबू त्रिपाठी, रात्रि आकाश गजल कृतिका सम्पादक मिलन समीरलगायतलाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियोे ।





