चितवन, २७ कात्तिक ।
नेपाली आतिथ्य (हस्पिटालिटी) उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
एक विशेष समारोहका क्रममा कम्पनीमा पाँच वर्षदेखि हाउसकिपिङ विभागमा कार्यरत कर्मचारी गीता विश्वकर्माले रिबन काटी होटलको उद्घाटन गर्नुभयो । कर्मचारीहरूको योगदानको कदरस्वरूप उद्घाटनको जिम्मेवारी कर्मचारीलाई नै दिइएको हो ।
होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणबीच पनि पौवाले पर्यटन तथा आतिथ्य व्यवसायलाई देशव्यापी रूपमा विस्तार गरिरहेको बताउनुभयो । उहाँका अनुसार पछिल्ला राजनीतिक आन्दोलन र आर्थिक अनिश्चितताले लगानीकर्तामा असर पारे पनि पर्यटन क्षेत्रको गति रोक्नु नहुने होटल पौवाको धारणा छ ।
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओम पाण्डे र नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीलगायतको उपस्थिति रहेको थियो ।
यस अवसरमा आजदेखि तीन दिनसम्म चल्ने ‘वृहत खाना प्रवर्द्धन महोत्सव’ पनि सुरु भएको छ । नेपाली खाना प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा चितवन, नवलपुर र आसपासका झन्डै ४० हजार पाहुनालाई निमन्त्रणा गरिएको होटल पौवाका ब्रान्डिङ विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिनै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।
महोत्सवमा भरतपुर शाखासँगै जुम्ला, बुटवल, पाल्पा, काठमाडौंलगायतका १६ शाखाका स्टलहरू राखिएका छन्, जहाँ विभिन्न स्वादमा तयार गरिएका नेपाली परिकार निःशुल्क रूपमा सर्वसाधारणका लागि उपलब्ध छन् । भण्डारीले भोलि र पर्सी कार्यक्रममा सहभागीहरूको संख्या अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
भरतपुर शाखामा १७ ओटा लक्जरी कोठा, आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुगठित गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ । विवाह, ब्रतबन्ध र कर्पोरेट कार्यक्रमका लागि दुईवटा विशाल हल, साना बैठक कक्ष र पारिवारिक भेटघाटका लागि १० वटा फरक–फरक क्षमताका हलहरू पनि उपलब्ध छन् । निकट भविष्यमा थप १२ कोठाको आवास भवन निर्माणको योजना अघि बढाइएको छ ।
यसका साथै, सौराहा, मौलाकाली, मनकामना र अन्य धार्मिक तथा पर्यटकीय गन्तव्य समेटिएका विशेष टुर प्याकेजहरू पनि शाखाबाट प्रदान गरिनेछन् ।
रुपन्देहीको सालझण्डीबाट सुरु भएको पौवाको यात्रा आज चितवनसम्म आइपुग्दा १६ शाखामा फैलिएको छ । यसअघि होटल पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुङ्गा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा सञ्चालनमा छन् ।
हाल नेपालगञ्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन अवस्थामा रहेको छ भने त्यहाँ बैंक्वेट र रेस्टुरेन्ट सेवाहरू सञ्चालनमा छन् । यस्तै, पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणका लागि ल्यान्डस्केपिङ कार्य भइरहेको छ ।
स्थानीय परिकार बनाउन दक्ष महिला शेफहरूद्वारा “भातभान्छा” नामक नेपाली खाना (दाल, भात, तरकारी, अचार) प्रवर्द्धन कार्यक्रम नेपालगञ्ज र भैरहवाबाट सुरु गरिएको छ ।
देशभर १,००० भन्दा बढी रोजगारी सिर्जना गर्दै आएको होटल पौवामा हाल २५० भन्दा बढी लगानीकर्ता संलग्न छन् ।




