२०८२ कात्तिक १०, छठपर्व
भरतपुर–१२, चितवन
प्रिय नातिनी विदुषी,
साउँको भन्दा ब्याजको माया भनेझैं, हामीले तिमीलाई यति धेरै माया दियौं कि त्यो मायालाई शब्दमा बयान गर्ने मेरो सामर्थ्य छैन । मैले मात्र किन हुन्थेँ र ? सबै हजुरआमाले आफ्ना नातिनीलाई त्यस्तै माया गर्नुहुन्छ सायद । सबैले आफ्ना अधुरा सपनाहरू आफ्नी नातिनीले पूरा गरेको देख्न चाहन्छन् ।
मैले यति धेरै माया गरेकी तिमी अब किशोरी भइसकेकी छ्यौ । प्रेम बेस्सरी खन्याएकी तिमीलाई नियममा चाहिँ कति बाँध्न सकेँ वा सकिनँ, म आफैंलाई थाहा छैन । कहिलेकाहीँ डर लाग्छ — कतै हाम्रो लालनपालनमा केही कमी त रहेन ?
अहिले तिमी २१औं शताब्दीकी छोरी हौ । तिम्रा आँखामा संसारका रङ्गीबिरङ्गी रङ्गहरू फट्किरहेका छन् र हृदयमा अनगिन्ती सपनाहरू फुलिरहेका छन् । आकाशमा उड्ने स्वतन्त्र पंक्षीझैं तिमी निस्फिक्री उडान भर्न चाहन्छ्यौ । मलाई थाहा छ नानी, जीवनको बाटो त्यति सजिलो छैन । यदि साँच्चिकै केही बन्न चाहन्छ्यौ भने कडा लगन, अनुशासन, धैर्य र सदाचारको बाटो कहिल्यै नछोड । समयअनुसार आधुनिक बन, तर छाडा होइन । आफ्नो चालचलन र संस्कार गुमाउने काम कहिल्यै नगर । कृत्रिमताको टलक क्षणभर त सुन्दर देखिन्छ, तर कालान्तरमा घातक हुन्छ — यो कुरा सधैँ मनमा राख ।
यतिबेला पश्चिमी हावा चारैतिर व्याप्त छ । त्यो सुगन्धित लाग्ने हावाले तिमीलाई पनि बहकाउन सक्छ । त्यसको पछि कहिल्यै नलाग नानी । आफ्नो भाषा, संस्कृति र भेषभूषा नै आफू हुनुको पहिचान हो । भाषा बदल्न सजिलो हुन्छ, तर मूल्य र मान्यता हराउन नदेऊ । सुशील बन, तर संकुचित होइन ।
नानी,
तिमी धैर्यवान बन, तर अन्याय सहने होइन । जीवनका उकाली–ओरालीहरूमा निकै कष्टप्रद क्षणहरू पनि आउन सक्छन् । त्यतिबेला हरेक मुस्किलसँग लड्ने साहस तिमीमा हुनुपर्छ । तिमीले जीवनका जस्तोसुकै जटिल परिस्थितिमा पनि हिम्मत हार्नु हुँदैन ।
जीवनमा आफूले चाहेका सबै कुराको प्राप्ति नहुन पनि सक्छ । त्यतिबेला बडो धैर्यले जीवनको रथ अघि बढाउन सक्नुपर्छ । साना–साना कुराले पनि विचलित हुने मान्छेले जीवनमा केही गर्न सक्दैन । जीवन अनमोल छ, यसलाई बडो जतनले सम्हाल्नुपर्छ ।
नानी,
यही जीवन फेरि फर्केर आउँदैन । समयले तिमीलाई धेरै विकल्पहरू दिनेछ । तिमीले पढ्ने पुस्तकहरूभन्दा ठूलो पाठ तिमीले जीवनबाट सिक्नेछ्यौ र त्यसबेला पनि तिमीले आफ्नो हृदयको आवाज सुन्न जान्नुपर्छ ।
सधैँ सम्झ, शिक्षित हुनु राम्रो हो, तर शिक्षाले तिमीलाई मानवता बिर्साउने होइन — अझ नजिक ल्याउने हुनुपर्छ । तिमीलाई थाहा छ, फलेको वृक्षको हाँगा सधैँ निहुरेको हुन्छ । जसरी फूलले सुगन्ध बाँड्छ तर गर्व गर्दैन, त्यसरी नै तिमी पनि आफ्नो ज्ञान, करुणा र इमानदारी बाँड्ने मान्छे बन ।
तिमीलाई संसारले चिनोस्, तिम्रो वेशभूषा वा अनुहारले होइन, तिम्रो आचरण र विवेकले । तिमीलाई थाहा छ नानी, आचरण र विवेक त गहना हुन्, जसले तिमी बस्ने घरलाई स्वर्ग बनाउँछन् । मलाई थाहा छ, समयले तिमीलाई फरक बनाउँछ, तर मेरो इच्छा यत्ति मात्र छ — तिमी हरेक रूपमा आधुनिक बन्ने प्रयास गर, अन्यायको विरुद्ध लड्न सक्ने साहसी छोरी बन ।
साहसी बन्ने भन्दैमा जतिबेला पनि विद्रोही बन्ने होइन । हृदयमा सधैँ आदर्श र संस्कारको उज्यालो बोकिराख — त्यो उज्यालो जीवनभर काम लाग्छ ।
तिम्रो भविष्यमा असीम उज्यालोको कामना गर्दै, माया र आशीर्वाद सहित कलम रोक्छु ।
तिमीलाई असाध्यै माया गर्ने —
तिम्री हजुरआमा,
इन्दिरा कार्की




