ललितपुर, २७ असोज ।
आउँदै गरेको महान चाड शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ । गोदावरी फूलको व्यवसायिक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२ असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म जावलाखेलस्थित खेल मैदानमा हुने फ्यानको उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले बताए ।
पुष्प व्यवसाय प्रबर्द्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएसनले जनाएको छ । यस्तै, उक्त प्रदर्शनीमा व्यवसायिक स्टल ८० वटा, १ प्लान्ट क्लिनिक स्टल, ५ वटा अफिसियल स्टल, २ वटा प्रतियोगितात्मक स्टल र २ वटा फोटो सेल्फी स्टल गरी ९० वटा प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सुमन महर्जनले जानकारी दिए ।
नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातीका फूल बिरुवासमेत प्रदर्शनी तथा बिक्री / वितरण हुनेछन् । साथै, यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवा, बिउबिजन, मलखाद र कृषि औजारसमेत प्रदर्शनीमा समावेश गरिने आयोजकले जनाएको छ । ५ दिनसम्म हुने उक्त गोदावरी फूलको प्रदर्शनी बिहान ९ बजेदेखि साँझ ५:३० बजेसम्म सञ्चालन हुनेछ भने प्रदर्शनीमा ४२ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड ३० लाखभन्दा बढीको व्यवसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।
त्यसैगरी, विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराई प्रतिस्पर्धामा प्रथम, दोस्रो तथा तेस्रो हुने नर्सरी / फर्मलाई शिल्ड, नगद तथा प्रमाण – पत्रद्दारा पुरस्कृत गरिने छ, भने गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराई उत्कृष्ट हुने नर्सरी / फर्मलाई पुरस्कृत गरिने छ । साथै, स्टल सजावटतर्फ समेत उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने कार्यक्रम रहेको आयोजकको जनाएको छ । व्यवसायका क्षेत्रमा भए गरेका नयाँ – नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि प्रदर्शनी स्थलमा स्थलबाटै प्रदान गरिने एशोसिएसनले जनाएको छ ।
प्रदर्शनी स्थलमा स्टल सजावट कार्य २०८२ असोज २८ गते बिहान ८ बजेदेखि खुल्ला हुने छ । प्रदर्शनी उद्घाटन असोज २९ गते बुधबार बिहान ११ बजे जावलाखेल मैदानमा हुने छ, भने प्रदर्शनी समापन २०८२ कात्तिक २ गते साँझ ५ बजे हुने एशोसिएसनले जनाएको छ । प्रदर्शनीको उद्घाटन नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले गर्नुहुने कार्यक्रम तय भएको छ । साथै, फ्यानको आयोजना र लाईन्स क्लब अफ ग्लोवल फ्लोरिकल्बरसँगको सहकार्यमा मेला अवधीको तेस्रो दिन असोज ३१ गते, शुक्रबार, रक्तदान कार्यक्रम हुने भएको छ । पुष्प व्यवसायीहरूलाई व्यवसाय प्रबर्द्धनमा हौसला प्रदान गर्ने र व्यवसायीहरूबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउन प्रदर्शनीको उद्धेश्य रहेको फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताए ।
हाल पुष्प उत्पादक कृषकहरूको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ताहरु बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने श्रेष्ठले बताए । यसैगरी, उक्त प्रदर्शनीमा अवलोकन गर्न आउने विद्यार्थीहरूको लागि १ सय रुपैयाँ, सर्वसाधारणहरुको लागि १ सय ५० रुपैयाँ तोकिएको र जेष्ठ नागरिकहरु (नागरिकता वा राष्ट्रिय परिचय पत्र लिएर आउनु पर्ने) को लागि चाहिँ नि:शुल्क प्रवेशको गरिएको फ्यानको कोषाध्यक्ष राजकृष्ण बजगाईँले जानकारी दिए । नेपालमा वि.सं. २०११ सालबाट सामान्य स्तरमा शुरु भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरुलगायतका अन्य क्षेत्रमा समेत फैलँदो अवस्थामा रहेको छ ।