एउटा सपना छ
एउटा के भन्नु
छ न त धेरै छन्
तर जति छन्
च्यातिएका छन्
बल्झिएका छन्
अल्झिएका छन्
जसरी बल्झिन्छन् निको हुन नसकेका पुराना घाउहरु
जसरी अल्झिन्छन् फुकाउन नजानेका ऊनका धागोहरु
एउटा समय छ
एउटा के भन्नु
छ न त धेरै छन्
तर जति छन्
रिसाएका छन्
ठुस्किएका छन्
फुत्किएका छन्
जसरी ठुस्किन्छ हिउँदको ऋतुसँग घामिला घामहरु
जसरी फुत्किन्छ हत्केलाबाट बिस्तारै धमिला रेतहरु
म अल्झिरहेको ऊनको धागो फुकाउन खोज्दैछु
ठुस्किरहेको समय फकाउन खोज्दैछु
मुसुक्क हाँस्छ समय जसै फुस्किन्छ एक फेर धागो
लगत्तै अल्झिन्छ धागो अनि ठुस्किन्छ एक पसर समय
अल्झिने र फुस्किने धागोको क्रममा चलिरहन्छ समय
कहिले मुस्काउँछ त कहिले ठुस्किन्छ समय
वर्षामा घाम पानीको चक्रमा घुमिरहन्छ समय
कहिले मुस्काउँछ घामसँग त कहिले पानीसँग ठुस्किन्छ समय
यसैगरी च्यापिइरहेछन् सपनाहरु
अल्झिरहेछन् धागोहरु
र, फुत्किरहेछन् मुठीबाट समयहरु
तर, एकदिन
च्यापिएका सपनाका मुनाहरु पलाउनेछन् कापहरुबाट
अल्झिएका ऊनका धागोहरु सम्हालिनेछन् समयहरुबाट
फुत्किएका समयहरु समेटिनेछन् भविष्यहरुबाट
र, दूर क्षितिजमा घामपानीको बीचबाट उदाउनेछन्
सप्तरङ्गी इन्द्रेणीहरु, मेरो आशाका इन्द्रेणीहरु ।।




