देवघाटधाममा `अहिल्या´ उपन्यासको विमर्श

देवघाटधाम, २५ साउन ।
साहित्यकार किरण आचार्यले लेख्नुभएको `अहिल्या´ उपन्यासको विमर्श गरिएको छ । आचार्य बन्धु समाज नेपाल चितवन कार्यसमितिले आयोजना गरेको कार्यक्रममा तीन जना स्रस्टाले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो ।

पावन भूमि देवघाटधामस्थित वेद वेदाङ्ग संस्कृत विद्यापीठमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार आचार्यलाई सम्मान पनि गरिएको थियो । आचार्य बन्धु समाज चितवनका अध्यक्ष शंकर आचार्य र वेद वेदाङ्ग संस्कृत विद्यापीठका प्राचार्य एवम् कार्यक्रमका प्रमुख अतिथि डाक्टर स्वामी अमृतानन्द गिरीजी महाराजले दोसल्ला ओढाएर साहित्यकार आचार्यलाई सम्मान गर्नुभएको हो ।

विमर्श कार्यक्रममा समीक्षक पुष्पराज खतिवडाले अहिल्या उपन्यासको बनोट र बुनोट पक्ष असाध्यै राम्रो भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो – `अहिल्याको नामाकरण पनि नारी जातिलाई सम्मान हो । उपन्यासमा वेदान्तका कुराहरू धेरै छन्, यो धार्मिक आख्यानको पुनर्कथन हो ।´ खतिवडाले यो उपन्यासमा महिलाको आत्मसङ्घर्षको कथा समेटिएको बताउँदै महिलालाई दोषी देख्ने सामाजिक दोषको भन्डाफोर गरिएको बताउनुभयो ।

त्यसैगरी अर्का समीक्षक सन्तोष घिमिरेले यो उपन्यासले प्रकृतिलाई बुझ्न र प्रकृतिबाट वास्तविक ज्ञान लिन सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो । त्यस्तै समीक्षक गोविन्दगोपाल खतिवडाले अहिल्या उपन्यास नारीवादी चिन्तनको अभिलेख भएको बताउनुभयो । `भाषामा सुबोध्यता, शैलीमा आलङ्कारिकता , स्रोतमा पौराणिकता, विचारमा दार्शनिकता एवम् तार्किकता अनि उद्देश्यमा लैङ्गिक समानता नै अहिल्या उपन्यासको निचोड हो´, खतिवडाले भन्नुभयो ।

कार्यक्रममा चितवनका प्रसिद्ध साहित्यकार उदय अधिकारीले शुभकामना मन्तव्य राख्दै पौराणिक उपन्यास अहिल्याको विमर्श देवघाटधाममा गरिनु महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो । आचार्य बन्धु समाज चितवनका अध्यक्ष शंकर आचार्यले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभयो । अहिल्या उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट