भरतपुर, १७ असार ।
गजल मञ्च चितवनले आगामी शनिबार असार २१ गते `अग्रजका गजल´ कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा चितवन र वरिपरिका अग्रज गजलकारहरुका गजल वाचन हुने अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए ।
उक्त कार्यक्रममा तीन वटा गजलसङ्ग्रह पनि विमोचम हुँदैछन् । गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभातको सम्पादन तथा गजल मञ्च चितवनद्वारा प्रकाशित गजलकार किसान प्रेमीको ‘अन्जानमा गयौ कि !´, मञ्चका हालका अध्यक्ष रामकृष्ण अनायासको ‘अनायास’ र कोषाध्यक्ष सरस्वती पौडेल को ‘प्रत्यूष ‘ गरी तीनवटा गजलसंग्रह विमोचन हुनेछन् ।
किसान प्रेमी गजल मञ्च चितवनका संस्थापक अध्यक्ष हुन् । उनका `गाउँवस्ती रोइरहेछ´ कवितासङ्ग्रह, `गजब छ मान्छे´ गजलसङ्ग्रह, `चेतना´ गीति खण्डकाव्य, `झुपडीको व्यथा´ लघुकथासङ्ग्रह, `गजलपथका यात्रीहरु´ र `गजल बिम्ब´ संयुक्त गजलसङ्ग्रह प्रकाशित भैसकेका छन् । रामकृष्ण अनायासले यसअघि गजलकार फुच्ची जमुनासँग सवालजवाफ गजलसङ्ग्रह `धमिलिएका डोबहरु´ प्रकाशन गरेका छन् । सरस्वती पौडेल भने पहिलोपटक गजलसङ्ग्रह लिएर आउँदैछिन् । ७० को दशकदेखि गजल लेखनमा सक्रिय पौडेल श्री भद्रकुमारी आधारभूत विद्यालयमा शिक्षण गर्दछिन् ।