मकवानपुर, ६ जेठ ।
बागमती प्रदेश सभाकाे मंगलबारकाे बैठकमा प्रदेश सभा अन्तरगतका संसदीय समितिमा विचाराधीन ४ वटा विधेयकका प्रतिवेदन पेस गरिएकाे छ । मंगलबारकाे बैठकमा संसद्को हिउँदे अधिवेशनमा पेस भएका ४ वटा संशोधन विधेयकको प्रतिवेदनहरू पेस भएका हुन् ।
संसदीय समितिमा दफावार छलफल गरी संशोधन प्रस्तावसहित पारित भइ तयार भएका विधेयकका प्रतिवेदन सभामा पेस भएको हो । बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेका हुन् ।
त्यस्तै उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेका हुन् ।
बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका छन् । यसैगरी मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन सभामा पेस गरेका छन् । सत्तापक्ष र प्रतिपक्षी दल बीचको सहमतिका विषयहरु टुंगिन नसक्दा प्रदेश सभाकाे हिजोकाे बैठक सम्भावित कार्यसूची हटाउँदै सभामुख सानुकुमार पाठकले स्थगित गरेका थिए । प्रदेशसभामा पेश गर्नका लागि तयार गरेका विषयहरु कार्यसूचिबाट हटाएर सोमबारको बैठक स्थगित गरिएको हाे ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे २ घण्टा ढिलो गरी सुरु भएको थियाे । सत्तापक्ष र प्रतिपक्षी दल बीच सहमति हुन नसक्दा पटक–पटक रोकिँदै आएको बैठक प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र बैठक सुचारु गर्न सहमत भएकाे हो ।
विगतका सहमति कार्यान्वयनको माग गर्दै आएको प्रतिपक्षी दलले तत्काल सरकारको नीति कार्यक्रम ल्याउन दिन तयार भएपछि बैठक सञ्चालन भएको हो । बजेट रकमान्तरको बटम लाइनमा अड्किएका प्रतिपक्षीको माग सरकारले क्रमिकरुपमा सम्बोधन गर्दै अघि बढ्ने प्रतिवद्धतापछि मंगलबारकाे बैठक संचालन भएको हो ।





