गैंडाकोट, ४ जेठ ।
स्वतन्त्र विद्यार्थी युनियन कालिका संस्कृत विद्यापीठको आयोजनामा शनिबार एक भावनात्मक र भव्य समारोहबीच शास्त्री चतुर्थ वर्षका विद्यार्थीहरूलाई औपचारिक रूपमा बिदाई गरिएको छ ।
कार्यक्रमको सभापतित्व स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनुप भण्डारीले गर्नुभयो । सञ्चालनको भूमिका निभाउनुभएका संस्थापक उपाध्यक्ष गणेश भण्डारीले अत्यन्त शालीन, साहित्यिक र सजीव शैलीमा कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि विद्यापीठ सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद सापकोटा, विशिष्ट अतिथिद्वय विद्यापीठका प्राचार्य डा. केशवराज चालिसे, नेपाल संस्कृत विश्वविद्यालयको शास्त्री तहको वार्षिक परीक्षा २०८१, कालिक संस्कृत विद्यापीठ एवं गैंडाकोट केन्द्रका परीवेक्षक प्राध्यापक नवराज पाण्डेय, अतिथिहरूमा नेपाल संस्कृत विश्वविद्यालय कर्मचारी संघका केन्द्रीय सदस्य तथा लेखाप्रमुख वेलबहादुर दराई, कर्मचारी संघ विद्यापीठ एकाइ अध्यक्ष गंगाराम रिजाललगायतका विद्यार्थीहरू, प्राध्यापकहरू एवं कर्मचारीहरूलगायत शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
विदाइ कार्यक्रममा स्वागत मन्तव्य युनियनका उपसभापति मिलनकुमार पराजुलीले आत्मीय स्वागत गर्दै, चतुर्थ वर्षका विद्यार्थीहरूप्रति आदर र शुभकामनाका भावहरू प्रकट गर्नुभयो । उहाँका शब्दहरूमा आत्मीयता, सादगी र विद्यार्थी एकताको भावना झल्किन्थ्यो ।
चतुर्थ वर्षको विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै स्मृति टण्डनले विद्यापीठमा बिताएका चार वर्षभन्दा बढी समयका मीठा सम्झनाहरूलाई साझा गर्दै, आभार र माया पोख्नुभयो । साथीहरू, गुरुहरू र संस्थाप्रति उहाँको गहिरो कृतज्ञता मन्तव्यको मूल आत्मा थियो ।
लेखाप्रमुख तथा नेपाल संस्कृत विश्वविद्यालय कालिका संस्कृत विद्यापीठका केन्द्रीय सदस्य वेलबहादुर दराईले ओजस्वी ढंगले विद्यार्थी, शिक्षक, प्राचार्य र समिति सबैको दायित्व र सामूहिक भूमिकाबारे व्याख्या गर्नुभयो ।
विद्यार्थीको हकहित, नेतृत्व विकास र व्यवस्थापकीय दृष्टिकोणसमेत उहाँको मन्तव्यमा उजागर भयो ।
नेपाल संस्कृत विश्वविद्यालयको शास्त्री तहको वार्षिक परीक्षा २०८१, कालिका संस्कृत विद्यापीठ एवं गैंडाकोट केन्द्रका परीवेक्षक प्राध्यापक नवराज पाण्डेयले कालिका संस्कृत विद्यापीठको राष्ट्रिय महत्वको चर्चा गर्दै अब आचार्य तह सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
चतुर्थ वर्षका विद्यार्थीहरूलाई यहिँ राखेर संस्कृत सेवामा अगाडि बढाउन आग्रह गर्नुभयो ।
विद्यापीठका प्राचार्य डाक्टर केशवराज चालिसे विदाईलाई “शब्द मात्र” भएको बताउँदै विद्यार्थी र विद्यापीठको सम्बन्ध अन्त्य हुन नसक्ने भाव व्यक्त गर्नुभयो । संस्कृत शिक्षा विश्वव्यापीरूपमा फैलिनसक्ने भन्दै, विद्यापीठमा आचार्य तह खोल्ने लागि आफू दृढ इच्छाशक्ति बोकेको बताउनुभयो ।
प्रमुख अतिथि तथा विद्यापीठ सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद सापकोटाले संस्कृत शिक्षा, विद्यार्थीहरूको प्रतिबद्धता र संस्कारबारे दिव्य वाणीमा मन्तव्य राख्नुभयो ।
विद्यार्थीको विदाई मात्र नभई विद्यापीठको गौरवको अभिवृद्धि भएको भन्नुभयो ।
सञ्चालनको भूमिका निभउनुभएका संस्थापक उपाध्यक्ष गणेश भण्डारीले सम्पूर्ण अतिथि, विद्यार्थी र आयोजकप्रति आभार व्यक्त गर्दै चतुर्थ वर्षका दाजु–दिदीहरूका लागि आशा, प्रेरणा र शुभेच्छा समेटिएको भावुक मन्तव्य राख्नुभयो ।
कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका युनियनका अध्यक्ष अनुप भण्डारीले सम्पूर्ण कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउने सबैप्रति धन्यवाद दिँदै चतुर्थ वर्षका विद्यार्थीहरूको भविष्य उज्ज्वल होस् भन्ने शुभकामना प्रकट गर्दै कार्यक्रम समापन गर्नुभयो ।





