मकवानपुर, ३० वैशाख ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएकाे छ । चलचित्र पत्रकार अनन्त वाग्ले, रंग सम्पादक रेनिश फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई संघले पुरस्कारसहित सम्मान गर्ने भएको हाे ।
मंगलबार बसेको संघको बैठकले नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई सम्मानित गरिने निर्णय गरेकाे संघका अध्यक्ष कपिल खड्काले बताए । उनका अनुसार मकवानपुरमा जन्मिएर चलचित्र, कला साहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई कलाकर्मी सम्मान २०८२ बाट रंग सम्पादक रेनिश फागोलाई सम्मान गरिने निर्णय भएको बताए ।
त्यस्तै मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिन लागिएको संघका अध्यक्ष खड्काले बताए । अधिकारी दुई दशकदेखि रेडियोमा सक्रिय रहेका छन् ।
दिवसकै अवसरमा पहिलो पटक चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी बालकलाकार शुपला सापकोटालाई अभियान यात्रामा सफलताकाे लागि प्रशंसा पत्रद्वारा सम्मान गरिने उनले जानकारी दिए । हरेक वर्ष जेष्ठ ७ गते संघ स्थापना भएकोले उक्त दिन चलचित्र पत्रकारिता दिवस मनाउँदै आइरहेको छ ।





