भरतपुर, १६ वैशाख ।
नेपाली लेखक सङ्घ चितवनले रचनावाचन कार्यक्रम गरेको छ । तेस्रो राष्ट्रिय लेखक दिवसको अवसर पारेर चितवन साहित्य परिषद् भवनमा मङ्गलबार आयोजना गरिएको कार्यक्रममा विभिन्न स्रस्टाले रचनावाचन गरेका थिए । कार्यक्रमका अप्सु पौडेल, सूर्यप्रकाश कँडेल, समिता न्यौपाने पौडेल, चारघरे ठिटो, एकदेव रिमाल, उदय अधिकारी, रमेश प्रभात, परिवेश मुन्छे, मेनका चापागाईं, गायत्री अधिकारी, देवीमाया सापकोटा, सरला जोशी, विद्या भण्डारी चिराग, प्रेम रिमाल, नवराज ढुंगानालगायतले कविता प्रस्तुत गरे ।
१९८७ सालमा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि, लेखक एवं बुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीम शमशेर समक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन (वैशाख १६) लाई राष्ट्रिय लेखक दिवसका रूपमा मनाउने गरिन्छ । यस दिनलाई नेपालको इतिहासमा पुस्तकालय पर्वका रूपमा पनि चिनिन्छ । नेपाली लेखक सङ्घले २०८० सालदेखि राष्ट्रिय लेखक दिवस मनाउन थालेको हो ।
मङ्गलबार नेपाली लेखक सङ्घको केन्द्रीय समितिले राजधानी काठमाडौंमा र विभिन्न जिल्लामा रहेका शाखाले जिल्लाव्यापीरूपमा विमर्श तथा रचनावाचनका कार्यक्रम गरेका छन् । चितवनमा भएको कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित र सल्लाहकार प्राडा नारायणप्रसाद खनालले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाली लेखक सङ्घ चितवनका उपाध्यक्ष लेखराम सापकोटाले स्वागत मन्तव्य राख्दै राष्ट्रिय लेखक दिवसको सन्दर्भ र महत्त्व बारे चर्चा गरेका थिए । सङ्घका सल्लाहकार केदारनाथ खनाल प्रमुख अतिथि रहेको कार्यक्रम शान्ति शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सचिव सामना पहाडले सहजीकरण गरेकी थिइन् ।





