तिम्रा
कलिला औँलाहरू खेलाएर
सिकाएको थिए
तिमीलाई ज्ञानको वर्णमाला
तिमीलाई पहिलो पटक
बुढीऔला र चौरऔलाले
कलम समाउन लगाएर
सिकाएको थिए
बाह्खरीको मिठो सङ्गीत
तिमी त्यही
बाह्रखरीको सङ्गीत सिकेर
जवान भयौ
र सिक्यौ
जीवन जिउने कला
अनायास
धेरैपछि तिमी भेटियौ
माइतीघरको कुरुक्षेत्रमा
एकातिर तिमी थियौ
र थियौ
तिमीजस्ता अनेक शिष्यहरू
अर्कोतिर म थिएँ
र थिए मजस्तै गुरुहरू
तिमीहरू
दुर्योधनको कवच बोकेर
निरीह उभिरहेका थियौ
र उसैको आदेशमा
पानीको फोहराले
हामीलाई पटकपटक भिजायौ
गोर्खे लौरी चलाएर
हामीलाई पटकपटक सेकायौ
हामी रगताम्य भयौँ
ढल्यौँ , उठ्यौँ , फेरि ढल्यौँ
यस्तो लागिरहेछ अहिले
प्रिय शिष्यहरू
तिमीहरूले
पानीको फोहोरा चलाउँदा
तिमीहरूले
गोर्खे लौरी नचाउँदा
तिम्रा कोमल
हातहरूमा कति ठेला परे होलान्
एकपटक
तिम्रा हातहरूमा चुमेर भन्ने मन छ
यशश्वी भव :





