भरतपुरमा ७ जना स्रस्टा सम्मानित

भरतपुर, ५ वैशाख ।
भरतपुर महानगरले विभिन्न विधाका ७ जना स्रस्टालाई नगदसहित पुरस्कृत गरेको छ ।
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानद्वारा स्थापना गरिएका विभिन्न सम्मान तथा पुरस्कारहरू प्रदान गरिएको हो ।

प्रतिष्ठानका कुलपति तथा महानगर प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र उपकुलपति इन्द्रप्रसाद रेग्मीले स्रष्टाहरूलाई नगद राशि, दोसल्ला र सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । प्रतिष्ठानले रु १ लाख ७८ रुपैयाँको नारायणी प्रज्ञा सम्मान भरतपुर- १२ निवासी प्राध्यापक कपिल अज्ञातलाई प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालय नेपाली विभागमा प्राध्यापन गर्नुहुने अज्ञात विगत ४० वर्षदेखि नेपाली भाषा, साहित्य, समालोचना र अनुसन्धानमा क्रियाशील हुनुहुन्छ ।

यसैगरी भरतपुर महानगरपालिका- ९ का प्रा.डा. देवीप्रसाद कँडेललाई ५० हजार ७८ रूपैयाँ राशिको कृष्ण बम मल्ल प्रज्ञा सम्मान प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाटै निवृत्त प्रा.डा. कँडेल इतिहास, संस्कृति तथा समाजशास्त्रका अन्वेषक हुनुहुन्छ । यसैगरी मूर्तिकलामा विशेष योगदान दिनुहुने भरतपुर महानगरपालिका- ९ निवासी सूर्य मध्यरातलाई रु ५० हजार ७८ रुपैयाँ राशि सहित भरतपुर प्रज्ञा सम्मान प्रदान गरिएको छ । सोही समारोहमा रमेश प्रभातको “अलिकति फरक कुरा” निसमालोचना सङ्ग्रह, गणेश श्रमणको “आगो लिएर गाउँ गाउँमा” कवितासङ्ग्रह र टीकाराम रेग्मीको “बाँसुरीको धून” कथासङ्ग्रहलाई भरतपुर प्रज्ञा पुरस्कार प्रदान गरिएको छ । यसैगरी खिमा रिजालको “अन्तर्मनका रङ्गहरू” निबन्धसङ्ग्रहलाई वागीश्वरी प्रज्ञा पुरस्कार प्रदान गरिएको छ । यी सबै पुरस्कारका राशि जनही २५ हजार ७८ रुपैयाँ रहेको छ ।

सो अवसरमा महानगर प्रमुख प्रतिष्ठानका कुलपति रेनु दाहालले विकास निर्माणसँगै भरतपुर महानगर साहित्य कलाको क्षेत्रको प्रवर्धनमा पनि अघि बढेको बताउनुभयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले साहित्य क्षेत्रमा क्रियाशील स्रष्टाहरूलाई सम्मान गर्नु महानगरको खुसी र गौरवको कुरा भएको बताउनुभयो ।

पुरस्कृतहरू मध्यबाट साहित्यकार कपिल अज्ञातले यो सम्मानले जिम्मेवारी थपिएको बताउँदै साहित्यतर्फ अग्रसर हुने थप प्रेरणा जागेको बताउनुभयो । प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीको सभापतित्वमा भएको कार्यक्रमको सदस्य सचिव बालकृष्ण थपलियाले सञ्चालन गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट