मकवानपुर, ५ वैशाख ।
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य १४ जना यात्रु घाइते भएका छन् । शुक्रबार बिहान १ बजेको समयमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको र १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा रौतहटको दुर्गाभवानी गाउँपालिका वडा नम्बर–५ बस्ने ५० वर्षकी निलमदेवी राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी सर्लाहीको बागमती गाउँपालिका वडा नम्बर– ७ बस्ने १३ वर्षकी मानुसी मगरको घटनास्थलमानै मृत्यु भएको हो । उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा बिहान साढे ५ बजे मात्र दुर्घटनास्थल नजिक खोल्सामा मृत अवस्थामा फेला परेको थियो ।
दुर्घटनामा घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको गाडी मोडबाट करिब २ सय मिटर तल खसेको प्रवक्ता अर्यालले बताए । गाडी पूर्णरुपमा क्षति भएको छ । चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामी पनि घाइते भएका छन् । उनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ ।





