मकवानपुर, १९ चैत ।
दुई महिनापछि बुधबारकाे लागि बाेलाइएकाे बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएकाे छ । प्रतिपक्ष र सत्तापक्ष दलहरुबीच बजेट माथिको विवाद कायमै रहेपछि प्रदेशसभाको बैठक बुधबार १ बजेका लागि स्थगित गरिएकाे हाे ।
मंगलबार दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक दलहरुबीच सहमती हुन नसक्दा दिउँसो ४ बजेसम्मका लागि सारिएको थियो । ४ बजे समेत बैठक बस्ने अवस्था नरहेपछि सूचना टाँस गरेर बुधबार १ बजेका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएकाे छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलको बैठक तथा कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार १ बजेसम्मका लागि बैठक सार्ने निर्णय गरेको थियाे ।
सभा सञ्चालनको लागि बसेकाे ७ दलकाे छलफल निष्कर्ष विहीन
बागमती प्रदेशसभा सञ्चालनको उद्देश्यअनुसार आह्वान भएको ७ दलको छलफल निष्कर्षविहीन भएकाे छ । मंगलबार बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चलेको छलफलले कुनै निष्कर्ष निकाल्न सकेन । प्रदेशसभा सञ्चालनका लागि दलहरूबिच सहमति जुटाउन सभामुख भुवनकुमार पाठकको नेतृत्वमा बैठक बसेको थियो। ११ घण्टा लामो छलफलमा दलहरूका तर्फबाट विषेशगरी बजेट बाँडफाँटको विषयमा केन्द्रित रहेकाे थियो ।
सर्वदलीय बैठकमा विगतको सहमतिअनुसार बजेट उपलब्ध गराउने विषयमा सरकार र प्रतिपक्ष दलबिच छलफल भए पनि निचोड आउन सकेन । बजेटमा भएका सन्तुलन मिलाउन आह्वान भएको निष्कर्षविहीन सर्वदलीय बैठक दुई चरणमा चलेको बताइएकाे छ ।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले संसद् चलाउन सरकार अनिच्छुक रहेको देखिएकाे बताएकाे छ । पार्टीका प्रमुख सचेतक रत्नप्रसाद ढकालले मंगलबार बसेको सर्वदलीय र कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले सहमति जुटाउने भन्दा पनि प्रतिपक्षलाई चिढ्याएर संसद् बैठक धकेल्न लागेको आरोप लगाए । मंगलबारको छलफलका क्रममा सरकारले प्रतिबद्धताअनुसार कुनै पनि काम अघि नबढाएको उनले बताए ।सरकारले यसअघी गरेका प्रतिबद्धता अनुसार प्रक्रिया अघि नबढे बुधबारको प्रदेशसभा बैठक चल्न नसक्ने समेत उनले चेतावनी दिए ।
संसद अवरोध भइरहे हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारकाे तयारी
हिउँदे अधिवेशनकाे प्रदेश सभामा अवरोध भइरहे अधिवेशन नै अन्त्य गर्ने सरकारकाे तयारी रहेकाे बताइएकाे छ । बुधबार प्रदेशसभाकाे हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीमा मुख्य मन्त्री लामा रहेकाे बताइन्छ ।
बुधबार सामान्य ढंगले संसद् चले कार्यसूची अघि बढाउने नत्र प्रदेशसभा अधिवेशन अन्त्य हुन सक्ने प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाले जानकारी दिए । यद्यपी प्रतिपक्ष दललाई मिलाउने प्रयत्न भइरहेको उनले बताए । विगतका सहमति क्रमशः कार्यान्वयनको चरणमा रहेका र केही दिनमा सबै विषय मिलान हुने उनले विश्वास भने व्यक्त गरे ।
विगतको सहमतिअनुसार प्रतिपक्ष र सत्तापक्षका सांसदहरूको छुटेका आयोजनाको बजेट १ अर्ब २० करोड रुपैयाँ रहेको उनले जानकारी दिए । त्यसमध्ये ८० करोड बजेट व्यवस्थापन गर्न बाँकी रहेको र सो कार्य प्रक्रियामा रहेको पनि उनले बताए ।





