नियात्राकार जीवा लामिछानेसँग भरतपुरमा `अन्टार्कटिका संवाद´

भरतपुर, २६ फागुन ।
नियात्राकार जीवा लामिछानेसँग भरतपुरमा `अन्टार्कटिका संवाद´ गरिएको छ । लामिछानेको हालै सार्वजनिक पुस्तक `अक्षत अन्टार्कटिका´ सन्दर्भमा रहेर सम्पूर्ण किताब नारायणगढमा उहाँसँग अनौपचारिक संवाद गरिएको हो । अन्टार्कटिका भ्रमणका रोचक एवम् रमाइला प्रसङ्ग उहाँले सुनाउनु भयो । उहाँ केही महिना अगाडि १३ दिन लगाएर अन्टार्कटिकाको भ्रमण गर्नुभएको थियो । उहाँ गृहजिल्ला चितवन आएका बखत सम्पूर्ण किताब नारायणगढले छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा चितवनका लेखक, कविहरूको बाक्लो जमघट थियो ।

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष लामिछाने हाल जर्मनीमा व्यवसाय गर्नुहुन्छ । हाइड्रोपावर, होटल , बैंकलगायतमा उहाँको लगानी छ । उहाँ नेपालका धनीहरूको सूचीमा पनि हुनुहुन्छ ।

अनौपचारिक छलफल मै उहाँले अन्टार्कटिका पुग्ने यात्रा नै रोमाञ्चक रहको बताउनुभयो । ‘खतरनाक त नभनौं, पहिला आटार्कटिकाको खोजीका बेलामा समुद्रको पानीजहाज यात्रा खतरनाक नै रहेछ । अहिले त ती खतरा पार गर्ने जाहाज छन् । समुद्रमा पानीको छाल ५० मिटरसम्म उठ्दो रहेछ । पानीजहाज नै उचालिने, थेचारिने यात्रा फरक त हुने नै भयो,’ उहाँले भन्नुभयो । अन्टार्कटिकामा घामको अनुभव गर्न नपाएको रमाइलो अनुभव पनि उहाँले सुनाउनुभयो । शरीरमा घामको ताप कम हुँदा छालामा असर पर्ने हुँदा विशेष किसिमको क्रीम हात र अनुहारमा लगाएर बस्नुपरेको बताउनुभयो । अन्टार्कटिकामा बुट्यानका नाममा लेउमा उम्रेको सानासाना बनस्पति मात्रै देखिएको उहाँले सुनाउनु भयो ।

‘अन्टार्कटिकाका बारेमा अंग्रेजी र हिन्दीमा धेरै नै लेखिएको पाएँ । नेपालीमा निकै कम रहेछ । एक त म डुलिरहने बानी भएको मान्छे एकपटक पुगौं भन्ने भयो । त्यहाँ पुगेपछि किताब लेख्ने सल्लाह नै भएको थियो । यसरी यो तेस्रो किताब जन्मिएको हो,’ लामिछानेले सुनाउनुभयो ।

कार्यक्रममा उदय अधिकारी, कर्णबहादुर बानियाँ, डाक्टर एकनारायण पौड्याल, नेत्रप्रसाद आचार्य, प्रभाकर पण्डित, त्रिलोचन सापकोटा, आनन्द चालिसे, चार घरे ठिटो, केपीकिरण शर्मा, रामजी अर्याल, भूपिन, रमेशकुमार पौडेल, विनोदबाबु रिजाल, अञ्जान प्रदीप, प्रकाश पौडेललगायतले नियात्राकार लामिछानेसँग अन्टार्कटिकाका बारेमा जिज्ञासा राख्नुभएको थियो । लामिछानेले पालैपालो जवाफ दिनुभएको थियो । लामिछानेले अन्टार्कटिकाको सुन्दरता अद्भुत रहेको बताउनुभयो । यसको सुन्दरतालाई कायम राख्न त्यहाँ गरिएको प्रयास प्रति उहाँले खुसी व्यक्त गर्नुभयो । ‘अन्टार्कटिका कुनै देशको प्रशासनिक नियन्त्रणमा पर्दैन । तर त्यहाँ लैजाने टुर अपरेटरहरुले नै अन्टार्कटिकामा बाहिरबाट जाने मान्छेका कारण कुनै हानिनोक्सानी नहोस् भनेर कस्तो राम्रो सावधानी अपनाएका छन्’, लामिछानेले भन्नुभयो ।

नियात्राकार लामिछानेका यसअघि `सरसर्ती संसार´ र `देश देशावर´ नियात्रा सङ्ग्रह प्रकाशित छन् । अक्षत अन्टार्कटिकालाई अघिल्ला पुस्तक भन्दा आख्यानीकरण गरेर लेखेको नियात्राकार लामिछानेले बताउनु भयो । फाइनप्रीन्टबाट प्रकाशित पुस्तकको मूल्य ६००/- रुपैयाँ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट