शक्तिपीठहरूमा ‘सराय नाच ‘

मौलिक संस्कृतिको रुपमा परम्परादेखि मनाइने सराय (सराएँ) को छुट्टै महिमा रहेको छ । यसलाई सराय नाच पनि भनिन्छ । गुल्मी, अर्घाखाँची तथा प्युठान जिल्लाका सबै शक्तिपीठहरुमा सराय नाच विशेष  रूपमा मनाइन्छ ।

हिन्दुहरुको महान चाड दशमी तिथिमा पर्ने विजयादशमीसँगै यी स्थानमा महिमाको रुपमा रहेको सराय नाच पनि हो । लुम्बिनी र गण्डकी प्रदेशका अन्य केही शक्तिपीठहरुमा पनि एकादशीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म कोटहरुमा मनाउने हुनाले यस सराय नाचलाई पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाचको रुपमा  लिन सकिन्छ । विशेष त पश्चिम क्षेत्रका ऐतिहासिक कोतघरहरुमा तथा दुर्गा र कालिका मन्दिरमा नाचिन्छ ।

पृथ्वीनारायण शाहको पालामा छरिएर रहेका बाइसे चौबीसे राज्यहरुका नजिकै रहेका कोतघरहरूमा पनि सराय नाचेर राजाहरूलाई मनोरञ्जन दिने चलन थियो भन्ने भनाइ पनि छ । यो सराय नाच असुर (राक्षस)सँगको लडाइमा सत्यको विजय भएपछि सत्यका पक्षधरहरुले विजयोत्सवस्वरूप मनाउन थालिएको हो भन्ने भनाइ छ । दैत्य र दानवमाथि देवी देवताले विजय हासिल गरेपछि त्यसको खुसियालीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान गर्न थालिएको किंवदन्ती छ ।

युद्धमा प्रयोग भएका खुँडा, खुकुरी, तरबार, भाला, लठ्ठी, ढाललगायतका घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिनेगरी सराय नाच  नाचिन्छ ।

दशैँको पहिलो दिन अर्थात नवरात्रिको प्रथम दिनलाई घटस्थापना भनिन्छ । घटस्थापनको दिन सबैको घरमा घडा स्थापना गरेर आवश्यकतानुसार जमरा राखिन्छ । सोही दिनदेखि प्रत्येक शक्तिपीठहरुमा पनि शक्ति स्वरुपा देवीका विभिन्न नवौं रुपको प्रतीकात्मक रुपमा पूजा-पाठ गरिन्छ । दशमीको दिन बिहान शुभसाइत अनुसार चामल, अविर, दही अनि केरा मिश्रित अक्षता र जमरा मान्यजनको हातबाट लगाइन्छ । ठाँउ अनुसार कतैकतै टाढाटाढा रहेका आफन्त तथा मान्यजनहरूको हातबाट पूर्णिमासम्म पनि टीका लगाएर आशीर्वाद ग्रहण गर्ने चलन रहेको पाइन्छ ।

दशमीको भोलिपल्ट एकादशीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म कोतघरमा पूजा-पाठ सहित ठाँउ अनुसार आआफ्नो पायक पर्ने ठाउँमा पुगेर सराय नाच नाचिन्छ ।

कोतमा आलम (भगवानको प्रतिमा) निकालेर विभिन्न थरिका ध्वजापतकाहरुले सिँगारिएको आलमलाई भगवानको प्रतीकको रुपमा मन्दिरबाहिर विधिपूर्वक निकालेर राखिन्छ र विधिपूर्वक पूजा-पाठ गरिन्छ । आलमलाई राखेको ठाँउ नजिकै औपचारिक रुपमा सराय सुरू गरिन्छ । सोही शक्तिपीठभित्र आलमसँगै देवीको मूर्तिसहित विधिपूर्वक राखिएका  मन्दिरभित्रका खुकुरी तरबार, खुँडा, खड्ग, भाला आदि हतियार हातमा लिएर हतियार जुधाएर ‘खेल भाइ हो, वाख्यै हा’ भन्दै नाचिन्छ । एक अर्काले सुरक्षितसाथ हातमा हतियार लिएर नचाउँदै लडाउँदै  दमाहा, झ्याली, सनई, नर्सिङा, कर्नाल बाजाका तालमा शक्तिपीठ नजिकै केही समय नाचेर विधिपूर्वक पुन:  कोतमै  विसर्जन गरिन्छ ।

परापूर्व कालदेखि ऐतिहासिक कोतघरहरूमा मनाउँदै आएको विजयोत्सवस्वरूप खुसियालीमा  मनाइने यो पर्वमा राँगा बोकालगायत   पञ्चबलि दिने चलन पनि रहेको पाइन्छ भने कतैतिर भाकल गरेर पञ्चबलि वा धुप धजा चढाएर विधिपूर्वक पूजा-पाठ  गरेर पनि मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ ।

(गैँडाकोट- २  नवलपरासी पूर्व निवासी लेखक पन्थी अक्सफोर्ड कलेज गैंडाकोटमा अध्यापन गर्नुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library