मकवानपुर, ६ भदौ ।
बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बिहीबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा मुख्य न्यायाधिवक्ता काफ्लेले शपथ लिएका हुन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थितीमा उच्च अदालत पाटनका मुख्य न्यायाधिश नृपध्वज निरौलाले काफ्लेलाई शपथ ग्रहण गराएका थिए । २ भदौमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए । मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
दोलखा तामाकोशी गाउँपालिका–३ का स्थायी बासिन्दा काफ्ले २५ वर्षदेखी कानून व्यवसायीको रुपमा कार्य गर्दै आइरहेका छन । काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरेका थिए । उनी नेपाल बार एसोसिएसनको सदस्य हुन् ।
प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
साउन १६ गते बागमती प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुख समक्ष पेश भएको उक्त विधेयक प्रदेश प्रमुख देवकोटाले बिहीबार प्रमाणीकरण गरेका हुन् । १८ साउनमा पदबहाली गरेपछि उनले पहिलो पटक विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रमाणीकरण भएको उक्त विधेयक प्रदेश राजपत्रमा “विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१” को नाम प्रयोग प्रकाशित भई प्रचलनमा आउने छ ।
विज्ञान प्रविधिका विविध क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा गरिने लगानीबाट विकसित, प्रविधियुक्त, गुणस्तरीय र परिणाममुखी नतिजाको माध्यमबाट आर्थिक विकास र नागरिकको जीवन पद्धतिलाई सरल तथा सहज बनाउँदै प्रदेशको समृद्धिमा योगदान पुर्याउने उद्देश्यले उक्त विधेयक प्रदेश सभाबाट पारित भएको हो ।





