चितवन-१: दुवै भन्छन्: ‘सजिलै जित्छु’ (अन्तरवार्ता)

चितवनको चुनावको चर्चा देशव्यापी छ । मुख्य चर्चा चितवन–३ मा भएपनि चितवन–१ को चर्चा पनि कम छैन । यस क्षेत्रमा अर्थमन्त्री भइसकेका नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे र यस क्षेत्रका लोकप्रिय कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीबीच तीव्र प्रतिस्पर्धा छ । २०७० सालको संविधानसभा अर्को निर्वाचनमा भिडेका यी दुई नेता यसपालि पनि मैदानमा छन् । तर, परिस्थिति फरक छ । यसपालि उनीहरुको क्षेत्र विस्तार भएको छ । पहिलेको क्षेत्रमा रत्ननगर नगरपालिका पनि थपिएको छ । त्यस्तै पहिले एमाले एक्लै लडेकोमा यसपालि माओवादीसँग गठबन्धन गरेको छ । कांग्रेस भने राप्रपा र फोरमको साथ लिएर अघि बढेको छ । चुनाव आउन केही दिन मात्रै बाँकी हुँदा दुवै नेता घरदैलो अभियानको अन्तिम चरणमा छन् । यही मेसोमा ध्रुवराज खनालले गरेको कुराकानीः

जनताले अझै मेरो भूमिका खोजेका छन्ः सुरेन्द्र पाण्डे

चितवन क्षेत्र नम्बर एकमा अहिले रत्ननगर पनि थपियो, निकै भ्याइनभ्याइ भयो हैन घरदैलो कार्यक्रम गर्न ?

साच्चै भन्नुपर्दा मेरो ध्यान नै रत्ननगरमा छ । रत्ननगर क्षेत्र मेरो लागि नयाँ ठाउँ हो । खैरहनी र राप्ती पुरानै ठाउँ हुन् । थपिएको रत्ननगरलाई मैले प्राथमिकता दिएकै हुँ । क्षेत्र नम्बर १ मा चितवनकै ठूलो नगरपालिका थपिएपछि घरदैलो गर्न पक्कै पनि भ्यान नभ्याइ भयो । तर, जनतासँग प्रत्यक्ष भेटेर दोहोरो कुराकानी गर्न पाउँदा, जनताको अपेक्षा, गुनासो, सुझाव, शुभेच्छा लिन पाउँदा ज्यादै उत्साहित छु ।

रत्ननगरमा केन्द्रित हुँदा यहाँका मतदाताले तपार्इंलाई के भने ?
रत्ननगर क्षेत्र नम्बर १ मा थपिएपनि यहाँका जनताले मलाई रामै्रसँग चिन्छन् भन्ने मेरो विश्वास छ । म अर्थमन्त्रीसमेत भइसकेको छु । त्यो समयमा मैले धेरै योजनाहरु चितवनमा पारेको पनि छु । तपाईं सफल अर्थमन्त्री हो, तपाईंप्रति हाम्रो विश्वास छ भन्ने जवाफ जनताबाट मैले पाएको छु । मूलरुपमा उहाँहरुको समस्या समाधान गर्नेमा मप्रति तीव्र आशावादी भएको मैले पाएँ ।

मतदाताले यसो भनिरहँदा तपाईंले चाहीं के देख्नुभएको छ रत्ननगरका समस्या र सम्भावनाहरु ?
रत्ननगर आफैमा समृद्धितर्फ उन्मुख नगर हो । त्यसो भन्दैमा यहाँ केही गर्नु पर्दैन भन्ने होइन । मुख्य चुनौतीको रुपमा खोलाको कटान र डुवान छ । यहाँका खोलाहरुमा तटबन्ध गर्न सके सुरक्षित रत्ननगर बन्नेछ । यस्तै रत्ननगर क्षेत्रमै रहेको नेपालकै तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई अझै विस्तार गर्न जरुरी छ । सौराहालाई पूर्वी चितवनका अन्य पर्यटकीय क्षेत्रसँग जोड्न आवश्यक छ । साविक रत्ननगर उद्योग तथा व्यापारका लागि उपयुक्त छ भने साविक पिठुवा आवास र कृषि तथा साविक बछौली पर्यटन र कृषिका लागि उपयुक्त छ । यी तीन क्षेत्रलाई मिलाएर लैजाने हो भने रत्ननगरको विकास धेरै टाढा छैन । रत्ननगरमा बन्दै गरेको फोरलेन बाटो यहाँको विकासको महत्वपूर्ण पाटो हो । यहाँ सुविधा सम्पन्न वधशाला, पशुहाट बजारको व्यवस्था गर्न सकिने मेरो विश्वास छ ।

अर्थमन्त्री भइसक्नुभएको मान्छे, यहाँका जनताले आशा गरेको पनि सुनाउनुभयो । राष्ट्रियस्तरका योजनाहरु के–के बनाउनुभएको छ ?
राम्रो प्रश्न गर्नुभयो । मैले यहाँको विकासकै लागि स्थानीय मुद्दाहरुलाई मात्रै अघि वढाएको छैन, राष्ट्रिय महत्वका विषय पनि उठान गरिरहेछु । जस्तै सौराहालाई लोथरसम्म जोड्ने गरी पर्यटन मार्ग निर्माण, मुग्लिङ–नारायणगढ सडक खण्डको विकल्पमा टाँडी–शक्तिखोर हुँदै हुग्दी र भण्डाराबाट मलेखु चेपाङमार्ग बनाउन आवश्यक छ । यी बाटोहरु निर्माण भए यहाँ उत्पादन भएका र नाकाबाट राजधानी भित्राउने सामान ढुवानी सहज हुनेछ । शक्तिखोरमा घोषणा गरिएको औद्योगिक क्षेत्रलाई पूर्णता दिनु छ । जहाँ पोलिटेक्निक महाविद्यालय वनाउने निर्णय पनि छ । यी केही योजनाहरुको प्रक्रियासमेत अघि बढिसकेका छन् । वाम गठबन्धनले बहुमतसहितको सरकार ल्याएर यी सबै काम अबको पाँच वर्षभित्र सम्पन्न गर्नेछ ।

वि.सं. २०७० सालको संविधानसभा निर्वाचन र अहिलेको निर्वाचनलाई आँकलन गर्दा कस्तो नजिता आउला भन्ने अपेक्षा छ ?
प्रतिनिधि भइसकेपछि जनताको मन जित्ने काम गर्नुपर्छ । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा जनताले मलाई पत्याए, जिताए । त्यसपछि मैले धेरै काम यो क्षेत्रमा गरें । आशा छ जनताको विश्वास अनि मैले गरेको कामका आधारमा जनताले फेरि पनि मलाई अत्यधिक मतले जिताउनेछन् । त्योबेला मैले ५ हजार बढी मतले जितेको थिएँ । मलाई लाग्छ यो पटक त्योभन्दा दोब्बर बढी अन्तरले जित्नेछु । यो क्षेत्रका जनताहरुले देखाएको अथाह माया र दिएका प्रतिक्रियाले अझै मलाई उत्साहित बनाएको छ । उहाँहरुले एकपटक फेरि मलाई राष्ट्रिय राजनीतिमा भूमिका दिन खोज्नुभएको छ ।
अहिलेको निर्वाचनमा केही फरक पक्कै छ । नजितालाई कसैले अनुमान लगाउन सक्ने अवस्था छैन । तपार्ईले त ढुक्कका साथ जित्छु भनिरहनुभएको छ, के छ जित्ने आधार ?
जनताले चाहेअनुसारको काम गर्नुपर्छ । उहाँहरुको सुखदुःखमा साथ दिनुपर्छ । यी कुराहरु मबाट भइरहेका छन् । मेरो क्षेत्रका जनता त्यति अबुझ छन् जस्तो लाग्दैन । विकास गर्नेलाई उहाँहरुले जिताउनुहुनेछ । अनि यस क्षेत्रमा वाम गठबन्धनको राम्रो प्रभाव पनि छ । यिनै कारणले गर्दा यसपटक पनि मेरो प्रतिस्पर्धीलाई हराउँछु ।

अन्त्यमा मतदातालाई के आह्वान गर्नुहुन्छ ?
नेपालले निकै लामो राजनीतिक संक्रमणकाल भोगिसक्यो । राजनीतिक सफलता पनि हासिल गरिसक्यो । अब देश विकासको गतिमा अघि वढाउनुछ । कम्युनिष्टले मात्रै देशको विकास गर्न सक्ने इतिहास पनि साक्षी छ । म यस क्षेत्रका मतदातालाई आह्वान गर्न चाहन्छु । देश विकासका लागि बाम गठवन्धनलाई अत्यधिक मतका साथ विजयी गराउनुस् र तपाईंले चाहेको समृद्ध चितवन, समृद्ध नेपाल हामी पाँच वर्षभित्र देखाउँछांै ।

(((((((((((((((((((((

लोकतन्त्रिक एजेण्डाकै कारण हामी जित्दैछौंः राजेन्द्र बुर्लाकोटी

घरदैलो कार्यक्रमको अन्तिम चरणमा आइपुग्दा कस्तो अवस्था पाउनुभएको छ ?
जनतासमक्ष मत माग्ने काम अन्तिम चरणमा पुग्न लाग्यो । योबीचमा जनताले देखाउनुभएको उत्साहले म खुसी छु । जनता मंसिर २१ गतेको व्यग्र प्रतीक्षामा हुनुहुन्छ । उहाँहरु रुख चिह्नमा मतदान गरेर मलाई जिताउन तम्तयार हुनुहुन्छ । मैले जनता विगतको भन्दा धैरे उत्साहित भएको पाएको छु । जहाँ–जहाँ पुगेको छु, ती ठाउँका मतदाताले राम्रो प्रतिक्रिया दिनुभएको छ ।

मतदाताहरुचाहिं के भन्छन् तपाईं घरदैलोमा जाँदा ?
यतिखेर जनताको चासो भनेको देशमा शान्ति र समुन्नति कायम होस् भन्नेमा छ । कांग्रेसको नेतृत्वमा संविधान घोषणा भएपछि अब यसको कार्यान्वयन पनि कांग्रेसकै नेतृत्वमा होस् भन्ने जनअपेक्षा छ । दोस्रोमा आफ्नो गाउँ–ठाउँमा विकास भएको हेर्न चाहनुहुन्छ । घरदैलोमा भेट्दा पनि सबैको आशा र अपेक्षा उस्तै छन् । ससानादेखि ठूला राष्ट्रियस्तरका योजनाहरु आफ्नो गाउँमा आइदिए हुन्थ्यो, गाउँमा विकास भइदिए हुन्थ्यो भन्ने अपेक्षा सबैको छ ।

कस्ता योजना वा एजेन्डा लिएर जानुभएको छ घरदैलोमा ?
मुख्य कुरा अहिले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीचको दूरी जुन छ, त्यसलाई प्राथमिकता दिएको छु । नेपालको हरेक राजनीतिक आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस नै अहिले पनि नेतृत्व गर्ने दल हो । वाम गठबन्धनले नेपालमा अब साम्यवाद ल्याउँछौं भनेर बोलिरहेका छन्, अब सधैं वामले सरकार चलाउने हो भनिरहेका छन्, यस्तो अवस्था आयो भने लोकतन्त्र धरापमा पर्नेछ, जनताको स्वतन्त्रता समस्यामा पर्छ भनेर बुझाएको छु । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको परिस्थिति यो हो भनेर मतदातालाई बुझाउने काम गरेको छु । साथै अन्य विकास निर्माणका कामहरुलाई पनि सँगै लगेको छु । क्षेत्रानुसारको विकास गर्नुपर्ने अवस्था छ ।

तपाईंहरु विकासका योजनाभन्दा पनि गठबन्धनको औचित्य पुष्टि गर्नमै समय बिताउनुभएको छ भन्ने सुनिन्छ नि !
त्यस्तो होइन । मुख्यरुपमा राजनीतिक मुद्दा पनि जनतालाई बुझाउनै पर्छ । राष्ट्रिय मुद्दा कसरी अघि बढिरहेको छ, अब हामी कुन बाटोमा लागिरहेका छौं भन्नेमा स्पष्ट भन्नैपर्ने हुन्छ । त्यसो भनेर हामी खाली राजनीतिक गफमात्रै गरिरहेका छौं भन्ने कुरा झुटो हो । हामीले स्थानीय विकासको कुरालाई पनि उत्तिकै प्राथमिकता दिएका छौं । विकासका योजनाहरु पनि सँगै लगेका छौं । अहिले मुख्यगरी गठबन्धनकै कुरा हो । लोकतान्त्रिक गठबन्धनले जित्यो भने दिगो शान्ति र समुन्नत विकास हुन्छ भनेर मतदातालाई बुझाएको भने साँचो हो ।

लोकतान्त्रिक गठबन्धनलाई चाहिं जनताले किन जिताउने ?
फेरि भन्न चाहे लोकतान्त्रिक गठबन्धनबाट मात्रै दिगो शान्ति र समुन्नत विकास हुन्छ । त्यस्तै समाजवादका लागि पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्छ । चितवन–१ मा सहरोन्मुख बजार क्षेत्र र विकट गाउँको संगम छ । यहाँ आधुनिक जीवन बिताउने जनता र ग्रामीण समस्या भोगिरहेका, सामान्य पूर्वाधार विकास पनि नभएका जनता पनि छन् । उनीहरु सबैलाई समेटेर विकासको एउटै मालामा उन्नुपर्ने हुन्छ । त्यसको स्पष्ट खाका हामीसँग छ । तीव्र विकास र समृद्ध चितवनका लागि हामीलाई भोट दिनुस् भनेका छौं ।

खासमा यस क्षेत्रमा विकास गर्नुपर्ने कामहरु के रहेछन् ?
पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणी भेग निकुञ्जसँग जोडिएको छ । ती क्षेत्रहरुका बस्तीमा जंगली जनावरको आक्रमण अनि त्रास व्याप्त छ । त्यसको नियन्त्रणका लागि सीमानामा कंक्रिट वाल निर्माण गर्नुछ । यस क्षेत्रका खोलाले साह्रै दुःख दिइरहेको छ । ती खोलाहरुमा तटबन्ध अर्को गर्नुपर्ने काम हो । ठाँउ–ठाउँमा पीच र ढल निर्माण गर्न वाँकी छ, ती सबै काम सम्पन्न गर्नुपर्ने देखिएको छ । दक्षिण भेग कृषिका लागि उर्वर ठाँउ हो, त्यसको विकासका लागि पनि धेरै काम गर्नुपर्ने छ ।

संविधानसभाको दोस्रो निर्वाचनकै प्रतिस्पर्धीसँग फेरि भिड्दै हुनुहुन्छ कस्तो लागिरा’छ ?
प्रतिस्पर्धी एउटै हो । तर, अहिले पहिलेको भन्दा केही फरक पाएको छु । अघिल्लोपटक मेरै पार्टीभित्रको समन्वयमा समस्या भएको कारण मैेले चुनाव जित्न सकिनँ । अहिले त्यो अवस्था हाम्रो कांग्रेसमा छैन । अहिले राप्रपा पनि हामीसँगै छ । फोरम हामै पार्टीमा समाहित भएको छ । यी दुई पार्टी हामीसँगै भएकाले वाम गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न मलाई सहज छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट