राजधानी होइन, आर्थिक केन्द्र चितवनः विजय सुवेदी (अन्तरवार्ता)

नेकपा एमाले चितवनलाई ३ पटक नेतृत्व गरेका विजय सुवेदी चितवन क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा उम्मेदवार छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमाले र माओवादी गठबन्धनको साझा उम्मेदवारका रुपमा घरदैलोमा व्यस्त सुवेदी व्यवस्थित सहरको रुपम चितवनलाई विकास गर्नुपर्नेमा जोड दिन्छन् । सुवेदी चितवन प्रदेश ३ को छेउमा पर्ने भएकाले राजधानी नबन्न पनि सक्ने बरु आर्थिक केन्द्र बन्नेमा ढुक्क छन् । चितवन उपत्यका गुरुयोजना निर्माण समितिको संयोजक र भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा राम्रो काम गरेपनि राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने मुख्य मार्ग संसद् छिर्ने प्रयासमा सुवेदी यसअघि दुईचोटि असफल भइसकेका छन् । चुनावी दौडधुपको अन्तिम रफ्तारमा रहेका सुवेदी शुक्रबार साँझ कायाकैरनको कार्यालय आए । उनीसँग विनोदबाबु रिजालविप्लव काफ्लेले गरेको कुराकानीः

चुनावी दौडधुपको अन्तिमतिर हुनुहुन्छ, कस्तो भइरहेको छ घरदैलो ?

चुनावमा गइसकेपछि सकेसम्म सबै मतदाताको घरदैलोमा पुगूँ भन्ने हुँदोरहेछ । कहीं न कहीं छुटफुट होला । तर, सबै टोलमा पुगेको छु । आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुले राम्रो सत्कार गर्नुभएको छ । त्यसले निकै उत्साह थपेको छ । मैले अझै जनताको सेवा गर्न बाँकी रहेछ, जनअपेक्षा धेरै रहेछ भन्ने जान्न पाएको छु ।

कस्ता एजेण्डा लिएर जानुभएको छ जनतासामू ?

मुख्य एजेण्डा त राष्ट्रिय नै हो । सगरमाथाको देश, गौतमबुद्धको देश नेपालको जुन गौरव हुनुपर्ने हो । अहिले छैन । गौरव बढाएर देखाउनु छ । अर्को कुरा सफा, हरियाली र समृद्ध चितवनको जुन परिकल्पना हामीले गरेका थियौं, त्यसलाई साकार बनाउनु छ । चितवनलाई व्यवस्थित सहरको रुपमा विकास गर्ने मेरो पहिल्यैदेखिको परिकल्पना हो । लामो समयदेखि बसोबास गर्दै आएको तर आफ्नो नाउँमा जमिन नभएकालाई जमिन दिनु छ । अर्को कुरा प्रत्येक वडाको गुरुयोजना निर्माण गर्ने मेरो लक्ष्य छ । कहाँ सहर बनाउने, कहाँ खेतीयोग्य जमिन राख्ने, कहाँ उद्योग खोल्ने भन्ने विभाजन गर्न जरुरी छ । वडा कार्यालयको कम्तीमा ५ कठ्ठा जग्गा हुन जरुरी छ । यी सबै समेटेर व्यवस्थित योजना बनाउनुपर्ने छ । ६० वर्षअघि चितवनमा बसोबास सुरु भएको थियो । त्यसैले यसको बेग्लै पहिचान छ । राज्यको पुनर्संरचना भयो, अब जमिनको पनि पुनर्संरचना गर्न जरुरी छ । सरकारी कार्यालयहरुले विनाप्रयोग ओगटिरहेका जमिनको पनि व्यवस्थापन गर्न जरुरी छ । २०÷२५ मिनेटमा भरतपुर आइसक्ने गरी भरतपुरको विमानस्थल यहाँबाट सार्नुपर्छ । आर्मी ब्यारेकपनि मुख्य सहरबाट केही पर लैजानुपर्छ भनेको छु । ती ठाउँलाई खुला ठाउँको रुपमा प्रयोग गर्नुपर्छ । आँपटारीदेखि राइनोतालसम्म, शिवघाटलगायत क्षेत्रलाई पर्यटन क्षेत्र बनाउन सकिन्छ । मुख्यगरी अबको सहरमा कहाँ पर्यटन, कहाँ सहर, कहाँ आवास भन्ने कुरा एकिन गरेर अघि बढ्नुपर्छ भन्ने नै मेरो मूल एजेण्डा हो ।

तपाईंका यी एजेण्डा सुन्दा केहीअघि तपाईंको नेतृत्वमा बनेको चितवन उपत्यका गुरुयोजना निर्माण समितिले समेटेका बुँदाहरु नै आए । तर, त्यसबेला बनेको योजना कार्यान्वयनको त कुनै गुञ्जायस छैन नि !

हामीले व्यवस्थित चितवनको परिकल्पना गरेका हौं । चितवनलाई भौगोलिकरुपमा अझै बृहत बनाएर व्यवस्थित सहर बनाउने योजना गरेका थियौं । त्यो अलि दीर्घकालीन कुरा हो । हामीलाई थाहा थियो, संक्रमणकालमा यो सबै योजना कार्यान्वयन हुन सक्दैन, राज्य पुनर्संरचना भइसकेपछि यो लागू हुने हो । अब बल्ल यो कार्यान्वयनका लागि पहल गर्ने बेला आएको छ । अब प्रदेश सरकारमा हामी हुन्छौं । जिल्ला समन्वय समिति छ । महानगर छ । यिनीहरुले पनि आफ्नो संयन्त्रबाट काम अघि बढाउनेछन् । यसको अन्तिम लक्ष्य भनेको सफा, हरियाली, समृद्ध र व्यवस्थित चितवन नै हो ।

तपाईंले विमानस्थल सार्ने कुरा गर्नुभयो । तर, तपाईंकै अध्यक्षले यो सार्न सम्भव छैन भन्नुभएको छ । आपसमै कुरा बाझियो त ।

मूल कुरा अहिलेको विमानस्थलले अब धान्दैन भन्ने हो । उहाँको पनि आसय भनेको ठूलो विमानस्थल चाहिन्छ भन्ने नै होला । मेरो दृष्टिकोण भनेको यहाँको विमानस्थल सारेर मेघौली लैजान सकिन्छ । र ठूला बाटोले भरतपुर जोडिदा २०/२५ मिनेटमा यहाँ आउन सकिन्छ भन्ने हो । कुरा बाझिएको होइन, विस्तार गर्ने भन्ने नै हो । तर, विस्तारको ढंग फरक हुनसक्छ ।

 

गुरुयोजनाको मूल परिकल्पना चितवनलाई वैकल्पिक राजधानीका रुपमा विकास गर्ने नै थियो । तर, अहिले आएर प्रदेशको राजधानी पनि बन्न नसक्ने भयो । तपाईंहरु असफल हुनुभएको कि, राज्यले नटेरेको ?

हामीलाई थाहा छ कि पूर्वाधार नपुगी राजधानी ल्यायौं भने चितवन पनि काठमाडौंजस्तै अव्यवस्थित बन्छ । त्यसैले पहिले हाम्रो सहर व्यवस्थित गरौं, पूर्वाधार निर्माण गरौं अनि मात्रै राजधानी ल्याउँला भन्ने हाम्रो धारणा हो । त्यसबेला हामीले राजधानी चितवनमै ल्याऔं भनेकै हो । तर, तत्कालीन वातावरणले गर्दा त्यसका लागि आन्दोलन गर्न सम्भव भएन । त्यसैले हाम्रो स्वर मत्थर भएको हो । यद्यपि चितवनको विकास हुनुप¥यो, यहाँको मान्छेको जीवनमा परिवर्तन हुनुप¥यो । त्यसो हुनका लागि राजधानी अनिवार्य होइन । बरु हामी यसलाई आर्थिक केन्द्र बनाउन सक्छौं । त्यसका लागि ठोरी–रसुवागढी सडकलाई बढी जोड दिएका छौं । राष्ट्रिय राजमार्गमा जोडेर, द्रुतमार्गमा जोडेर चितवनलाई देशको केन्द्रविन्दु बनाउन सक्छौं । चितवन प्रदेश ३ को छेउ पर्छ । बरु केन्द्रीय राजधानी अनुकूल हुनसक्छ । यद्यपि प्रदेशको राजधानी तोकिएको छैन । त्यसका लागि स्वाभाविक पहल हामी गर्नेछौं ।

 

तपाईंभन्दा कतिपय कनिष्ठ राजनीतिज्ञ राष्ट्रिय राजनीतिमा जमिसकेका छन् । तर, तपाईं धेरै अघिदेखि नै प्रतिनिधि बन्न प्रयासरत हुनुहुन्छ । यसपालि झन् ७ वडाको मात्रै प्रदेश सभा सदस्य लड्दै हुनुहुन्छ । तपाईंको राजनीतिक भूमिका झनै खुम्चिदै छ होइन र ?

मलाई काम ठूलो र सानो लाग्दैन । विकासको काम गर्न जहाँ रहेर गरेपनि हुन्छ । भरतपुर अस्पतालको अध्यक्ष हुनेबेला पार्टी अध्यक्ष केपी ओलीले कहाँ जिल्ला अस्पतालको अध्यक्ष हुने तपाईंजस्तो मान्छे भन्नुभयो । मैले जनताको सेवा गर्न चाहन्छु, सानो÷ठूलो मलाई मतलब भएन भनें । स्थानीय चुनावमा पनि मेयर बन्ने इच्छा गरें । त्योबेला मैले मेयर हुन्छ भने मेयर नभए वडाध्यक्ष पाए पनि म काम गर्छु भनेको थिएँ । जनताको सेवा गर्दा मलाई आनन्द लाग्छ । ठूलो क्षेत्र भए बरु सबै ठाउँमा काम गर्दा गाह्रो होला । यो सानो क्षेत्र ७ वडामा काम गर्दा झनै मलाई राम्रो काम गर्न, नमूना काम गर्न सहज हुन्छ । मैले यसपालि पनि प्रदेश सभामा चुनाव लड्छु, त्यसमा पनि ‘ख’ मै लड्छु भनेरै मागेको हुँ ।

त्यसोभए सुरक्षित क्षेत्र खोज्नुभएको ?

सुरक्षित होइन, मेरो आफ्नै क्षेत्र भएकोले रोजेको । पहिले बरु म बाहिरी क्षेत्रबाट चुनाव लडेको थिएँ । तर, अहिले त आफ्नै घर भएको क्षेत्रमै लड्दैछु ।

भरतपुर अस्पतालमा रहेर यहाँले सफल नेतृत्व गर्नुभयो । तर, अझैपनि भरतपुरको स्वास्थ्य सेवा निर्विकल्प रिफरल सेन्टर बन्न सकेको छैन । यहाँको सेवा छिरोलिएको जस्तो देखिन्छ । यहाँको स्वास्थ्य सेवा व्यवस्थित गर्न के गर्नुपर्ला ?

भरतपुर अस्पताल राम्रो बनाउन मैले सकेको पहल गरें । तत्कालीन प्रमुख जिल्ला अधिकारीले यहाँको स्वास्थ्य क्षेत्र सुधार्न के गर्न सकिएला भनेर अध्ययन गर्ने जिम्मेवारी दिनुभएको थियो । हामीले ग¥यौं । त्यसमा चितवनलाई मेडिकल सिटी बनाउने भनेका छौं । तर, मौजुदा स्थितिमा मेडिकल सिटी सम्भव हुँदैन । घरमा अस्पताल चलाएर मेडिकल सिटी बन्दैन । त्यसका लागि निश्चित प्रकारको हस्पिटल जोन चाहिन्छ । पूर्वाधार तयार गर्नुपर्दछ । त्यसमा कुन अस्पताललाई कस्तो बनाउने, घटनाहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने सबै कुरा हामीले प्रतिवेदनमा समेटेका छौं । त्यसको कार्यान्वयन हुँदा तपाईंले उठाउनुभएको मुद्दा सम्बोधन हुनेछ ।

अब चुनावी प्रतिस्पर्धाको कुरा गरौं । उम्मेदवार धेरै भएपनि यहाँको क्षेत्रमा मुख्य भिडन्त लोकतान्त्रिक गठबन्धनसँगै हुने पक्का छ । प्रतिस्पर्धीलाई कस्तो आँक्नुभएको छ ?

मेरा ९ जना प्रतिस्पर्धी छन् । सबैलाई सम्मान गर्छु । हामी सबै जनतासामू गएका छौं । उहाँहरुले मत नदिएसम्म हामीले प्रकट गर्ने होइन । सबैजना मेरा प्रतिस्पर्धी हुन् । यतिचाहिं म भन्न सक्छु, मैले चुनाव जितेपछि सबै प्रतिस्पर्धीले जनतालाई के आश्वासन दिनुभा’छ, त्यही विषयमा पहिलो छलफल गर्नेछु । आगामी ५ वर्ष उहाँहरुकै सहयोग लिएर काम गर्ने हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट