बलराम पौडेलको जन्म २०१४ साल असार १४ गते मङ्गलबारका दिन तनहुँ जिल्लाको रूपाकोट गाउँ पञ्चायत वडा नं. ४, तिलहार (हालः भानु नगरपालिका–११) मा माता भागिरथी पौडेल र पिता द्वारिकानाथ पौडेलका छैटौँ सन्तानका रूपमा भएको थियो । उनको एस.एल.सी.सम्मको शिक्षा गाउँकै त्रिभुवन माध्यमिक विद्यालय, मानेचौरमा भएको थियो । उनले चितवन आई दिदी–भिनाजु (लक्ष्मीदेवी खनाल तथा वामदेव खनाल) को घर सङ््गमरोड, नारायणगढमा बसी वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा आइ.ए. अध्ययन आरम्भ गरे । उनी हाइस्कुल अध्ययन गर्दादेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध रही आफ्नो राजनैतिक यात्रा आरम्भ गरेका थिए । सोही अवस्थादेखि नै वनारसबाट प्रकाशित हुने नेपाली कांग्रेसको मुखपत्र तरुण लुकाइ–छिपाई गाउँघरमा पुर्याई नेपाली कांग्रेस र नेपाली राजनीतिका बारेमा ने.वि.संघका विद्यार्थीहरू तथा नेपाली जनतालाई सुसूचित गराउने कार्य गर्दथे । विद्यालयबाट नै ने.वि.संघमा आवद्ध भएकाले उनले क्याम्पसमा पनि ने.वि.संघको कार्यसमितिमा रही कार्य गर्न थाले । यसका साथै उनले ने.वि. संघ जिल्ला कार्यसमितिमा उमेश पौडेलको अध्यक्षतामा गठन भएको कार्यसमितिमा सचिव भई आफ्नो राजनैतिक कार्यलाई जारी राखे ।
उनी आफ्नो जुझारूपन र नेतृत्वदायी भूमिकालाई सशक्तरूपमा प्रस्तुत गर्नेक्रममा आफ्ना भनाइहरूलाई सबैले बुझ्ने तरिकाले सरल भाषामा प्रस्तुत हुन्थे । त्यस समयमा ने.वि.संघ र अखिल कार्यकर्ताहरूबिच समय–समयमा भनाभन हुनुका साथै झडप भैरहन्थे । यसै क्रममा एकपटक यस्तै हात हालाहालको स्थिति आयो र उनी भुइँमा लड्न पुगे । उनी लडेको समयमा विपक्षी साथीहरूले उनको मुखमा ढुंगाले प्रहार गरेछन् । उनी त्यस प्रहारबाट सख्त घाइते भई अस्पताल भर्ना हुनुपर्ने अवस्था सिर्जना भयो । अस्पतालमा उनको एक्सरे गर्दा च्यापुमा ४२ ठाउँमा चिरा परेको देखियो । उनी इन्तु न चिन्तुको अवस्थामा दुई दिनसम्म भरतपुर अस्पतालमा रहनुपरेको थियो । उनको त्यहाँ उपचार हुन नसक्ने कुरा त्यहाँका चिकित्सकहरूले बताएपछि उनलाई पाटन अस्पताल पुर्याइयो । पाटन अस्पताल पुगेको भोलिपल्ट बिहान ८ः०० बजे उनको शल्यचिकित्सा (अपरेशन) गर्न अपरेशन थियटरमा लगियो । आठ घण्टा लगाएर सफलतापूर्वक उनको अपरेशन सम्पन्न भयो ।
अपरेशन थियटरबाट बाहिर ल्याएको चार घण्टापछि मात्र उनको होस खुल्न गएको थियो । उनका सबै दाँतमा स्टिलको तारले मुख पूर्णरूपमा खोल्न नसकिने गरी स्टिच गरिएको थियो । यसले गर्दा उनलाई पाइप प्रयोग गरी झोलिलो पदार्थ मात्र खाना खुवाउनु पर्ने अवस्था सिर्जना भयो । उनको अस्पतालको औषधोपचार खर्च र आउने–जाने खर्चको चाँजोपाँजो गणेशमान सिंह र वी.पी. कोइरालाले गरिदिनुभएको थियो ।
चिकित्सकहरूले उनको मुख ४५ दिनसम्म खोल्न नमिल्ने र पूर्णरूपमा बेडरेस्ट गर्नुपर्ने निर्देशन दिएर अस्पतालबाट डिस्चार्ज भयो । हामी उनलाई लिएर चितवन आयौँ । उनलाई झोलिलो पदार्थमात्र खुवाई रेखदेख गरी राख्यौँ । उनलाई हरतरहको सेवा गर्न उनकी दिदी (पङ्क्तिकारकी श्रीमती) लक्ष्मीदेवी खनाल तम्तयार रहेकी थिइन् । उनले आफ्नो भाइप्रति गर्नुपर्ने सम्पूर्ण सेवाभाव प्रस्तुत गरेकी थिइन् । उनको यो कार्य स्तुत्य रहेको सबैको बुझाइ थियो ।
चिकित्सकको निर्देशनानुसार ४५ दिनपछि बलरामको स्टिच फुकाउन पाटन अस्पताल लग्यौँ । चिकित्सकहरूले केरा ल्याउनका लागि आग्रह गर्नुभयो सोहीअनुसार मैले केही केरा लिएर अस्पताल गएँ । स्टिच खोलेपछि उनलाई ‘आँ’ गर्न भनियो । उनको आधा इन्चभन्दा बढी मुख खुलेन । हामी सबै असमञ्जस्यको अवस्थामा पुग्यौँ । अब के गर्ने ? समस्याको समाधान खोज्नका लागि बिरामीलाई समेत लिएर हामी सबै जना वी.पी. दाजु बस्नुभएको स्थान चावहिल पुग्यौँ र उहाँ समक्ष आफ्ना कुराहरू राख्यौँ ।
उहाँले हाम्रा सबै कुरा सुनेर भन्नुभयो, “तिम्रो उपचारको लागि म चिठी लेखिदिन्छु, चिठी लिएर तिमी पटना जाऊ । त्यहाँ उपचार हुन्छ” भनी हामीलाई एउटा पत्र दिनुभयो । त्यो पत्र लिएर हामी पटना गयौँ । पटनामा गई त्यो चिठी हामीले डाक्टरलाई दियौँ । त्यो पत्र पाएपछि डाक्टरले बिरामीलाई केही समय चेकजाँच गरेर भने “मुख पूरा खुल्नका लागि केही समय लाग्छ । यो खाने र लगाउने औषधी लिएर जानुहोला” भनी प्रेस्क्रिप्सन दिएपछि हामीहरूले औषधी किनेर फर्कियौँ । त्यो औषधीले ७५ प्रतिशत काम गर्यो । क्याम्पसमा भएको प्रहारको प्रभावले जीवनपर्यन्त पूर्णरूपमा मुख खुल्न सकेन । त्यसैको कारणले उनका सबै दाँतहरू झर्नपुगे, असमयमै बुढोजस्तो देखियो ।
क्याम्पसको पढाइ सकिएपछि उनी पहाडतर्फ लागे र आफैले अध्ययन गरेको त्रिभुवन माध्यमिक विद्यालयमा शिक्षक बन्न पुगे । तीन–चार वर्ष त्यहाँ पढाएपछि उनले पहाडमा नबस्ने सोच बनाउन पुगे र आफ्ना माता–पितालाई चितवन बसाइ सर्नुपर्ने कुरा गरे । उनले आफ्ना मातापितालाई “अब पहाडमा बस्ने होइन, चितवन झर्नुपर्छ । त्यहाँ फराकिलो र ठूलो ठाउँ छ । त्यहाँ हामीहरूको उज्यालो भविष्य रहेको छ । म दुई वर्ष चितवन बस्दा त्यो कुराको अनुभव गरेको छु” भनेपछि उनका मातापिताले आफ्नो छोराको कुरालाई आत्मसात गरे । छोराको कुराबाट प्रभावित भई उनका मातापिता २०४१ सालमा आई विजयनगर, चितवनमा आई २५ कठ्ठा जमिन किनेर पुनः पहाड फर्किनुभयो । त्यसको एक वर्षपछि पुनः चितवन आई केही जमिन किनी त्यही घर निर्माण गरी बसोबास गर्न प्रारम्भ गर्नुभयो । मातापिता चितवन आई बसोबास गरेको लगभग दुई वर्षपछि बलराम पनि सपरिवार चितवन झरे ।
विद्यार्थीकालदेखि नै प्रजातन्त्रवादी विचारधारालाई आत्मसात् गर्ने भएकाले उनी नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता भई आफ्नो राजनैतिक विचारधारालाई अगाडि बढाउँदै लगे र शारदानगर गाउँ पञ्चायतको कांग्रेस इकाइ समितिको सभापति भै सामाजिक सेवामा अग्रसर भए । उनी दुईपटक चितवन क्षेत्र नं. ३ र ४ को क्षेत्रीय सभापति र एकपटक जिल्ला कार्यसमितिको सह–सचिवसम्म बन्न सफल भए । उनी क्षेत्रीय सभापति भएको समयमा तत्कालीन नेपाली कांग्रेस केन्द्रीय सभापति सुशील कोइरालालाई २०७० सालको संविधानसभाको निर्वाचनमा उम्मेदवार बनाई विजयी गराई सांसद बनाई पठाउन अग्रणी भूमिका खेलेका थिए । बाँके र चितवन गरी दुई क्षेत्रबाट चुनावमा उठी दुवै क्षेत्रबाट विजयी हुनुभएकाले उहाँले चितवनको क्षेत्र नं. ३ बाट राजिनामा दिनुभयो । सो क्षेत्रमा उपचुनावमा पार्टीका सभापति रामकृष्ण घिमिरेलाई टिकट दिइयो । उहाँलाई पनि उक्त क्षेत्रमा विजयी गराउन बलराम पौडेलको अतुलनीय योगदान रहेको कुरा सर्वविदितै रहेको छ ।
बलराम पार्टीको काम भनेपछि सधैँ हुरुक्क हुने, इमान्दारीतापूर्वक लगनशील भई लागि पर्ने, आफ्नो क्षेत्रमा परेका साना–ठूला, आफ्नो–अर्को केही नभनी समान रूपमा काम गर्नसक्ने खुबी भएका निष्कलङ्क कार्यकर्ता थिए । उनको लगनशीलता र इमानदारिता देखेर वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले “यो साह्रै इमानदार, लगनशील, कर्तव्यपरायण र गौप्राणी हो । यो चितवनको जिउँदो सहिद पनि हो । त्यत्रो ठूलो दुर्घटनामा झन्डै मरेर बाँचेको मान्छे हो । यसलाई हामीले उचित स्थान दिई कदर गर्नुपर्छ” भन्नुहुन्थ्यो । सायद उहाँहरूकै मूल्याङ्कनले होला, बलराम पौडेल बागमती प्रदेशको प्रदेश सभाको माननीय सांसद भए भने एक वर्ष सहकारी व्यवस्था, भूमिसुधार तथा गरिबी निवारण मन्त्रालको मन्त्री भई देश र जनताको सेवा गर्ने अवसर प्राप्त गरेका थिए ।
उनी आफ्नो टोल, छिमेक, क्षेत्रभरि नै विकास निर्माणका काम (स्कुल, कलेज, धारा, पानी, बाटो–घाटो) मा बिना भेदभाव दत्तचित्त भई कार्य गर्दथे । उनी आफ्नो क्षेत्रमा हुने गरेका जुनसुकै कार्यमा प्रायः आफै संयोजक भई निष्पक्ष कार्यहरू गर्दथे । उनी जहिले पनि पार्टीगत भावनालाई नजरअन्दाज गरी (यो आफ्नो र त्यो पराई नभनी) निष्पक्ष तवरले कार्य गर्दथे । उनी कुनै पनि कार्यमा सम्पूर्ण जनताको सहमति हुनुपर्दछ र यो नै एक सामाजिक व्यक्तित्वमा हुनुपर्ने गुण हो भन्ने गर्दथे र सोही अनुसार सबैलाई एकताबद्ध बन्ने प्रेरणा प्रदान गर्दथे ।
उनको घर नजिकै रहेको दुर्गा मा.वि. को व्यवस्थापन समितिको अध्यक्षमा रही दाता खोजी धान्यान्चल महायज्ञ लगाई विद्यालयको स्तरोन्नति गराउँदै विज्ञान सङ्कायको कक्षा ११ र १२ सञ्चालन गर्न सक्षम बने र नमूना विद्यालय बनाउन पुगे । अहिले सो विद्यालय दुर्गा शेषकान्त अधिकारी मा.वि. भौतिक र शैक्षिक स्तरमा सम्पन्न र सफल विद्यालयको रूपमा चितवन जिल्लामा प्रख्यात बन्न पुगेको छ । विद्यालयको यो अवस्था हुनुमा बलराम पौडेलको लगनशीलता, कार्यकुशलता, नेतृत्वदायी भूमिका र स्पष्टवादिताको अहम् भूमिकाका कारणले नै हो । उनी शारदानगर गाउँ विकास समिति, शारदानगरमा रहेको सहिद स्मारक कलेजको सञ्चालक समितिमा स्थापनाकालदेखि हालसम्म नै आबद्ध रही कलेजको समग्र क्षेत्रको उन्नयनमा हरतरहले सहयोग गर्दै आइरहेका छन् । यसैको परिणामस्वरूप आज गाउँमा नै उच्चशिक्षा अध्ययन गर्न पाउने वातावरण सिर्जना भएको छ । आफ्नै घरको भात खाई उच्चशिक्षा आर्जन गर्नको लागि सहज बन्न पुगेको छ ।
हिजोजस्तो उच्चशिक्षा आर्जन गर्नका लागि आफ्नो घरबाट टाढा जानुपर्ने असहज अवस्थालाई निराकरण गर्नमा उनको ठूलो भूमिका रहेको सबैले स्पष्टरूपमा महसुस गरेका छन् । उनले शैक्षिक क्षेत्रमा मात्र ध्यान नदिई खानेपानीको समस्याबाट आक्रान्त भएका सो क्षेत्रका मानिसहरूलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराउनका लागि विजयनगरमा खानेपानी उपभोक्ता समिति गठन गराई खानेपानीको ट्याङ्की निर्माण गराउनसमेत अहम् भूमिका खेलेका थिए । उनको दृढ इच्छाशक्तिका कारण सो क्षेत्रका काकाकुल अवस्थाका मानिसहरूले राहतको सास फेर्न सफल भएका छन् । यस्ता अनेक कार्यका कारण उनी त्यस क्षेत्रका एक उदाहरणीय व्यक्तित्वका रूपमा सबैले चिरकालपर्यन्त सम्झिरहने छन् ।
आफ्नो वरपरको समाजलाई मात्र होइन उनले देवघाट क्षेत्र विकास समितिको निर्देशक भई काम गर्दा उक्त समितिले कायापलट गर्न सफल भएको थियो । यसका साथै सोही क्षेत्रमा सञ्चालन भएको वृद्धाश्रमका लागि प्रति दिन रु. १।– का दरले रकम जम्मा गरी वृद्ध–वृद्धाहरूको सेवा–सुश्रुवामा ध्यान दिने गरी तीन–चार सय जना उदारमना सहयोगी दाताहरू बनाई उक्त वृद्धाश्रम सञ्चालनार्थ रकम जोहो गरेका थिए । यो कार्यका लागि आज पनि देवघाटबासीहरूले ससम्मान उनको नाम लिने गरेका छन् । यसका साथै उनी नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाको आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यका साथै अन्य विभिन्न सामाजिक, शैक्षिक तथा धार्मिक सङ्घ–संस्थाहरूमा आबद्ध रही समाज उत्थानका लागि सक्रिय भूमिका खेलेको कुरा सबैको माझ छर्लङ्ग रहेको छ ।
माथि उल्लेख भएका कार्यहरू गर्ने क्रममा उनले कहिल्यै तेरो र मेरो भनी भेदभाव गर्ने गरेका थिएनन् । राजनैतिक रूपमा कहिल्यै पनि यो आफ्नो पार्टीको र त्यो अर्को पार्टीको भनी पार्टीगत भावना नल्याई निष्पक्ष, निस्कलङ्क र समभाव राखी कार्य गरेका थिए । “समुदाय सबैको साझा सम्पत्ति हो । यसलाई जगेर्ना गर्दै सबैले आ–आफ्नो क्षेत्रबाट निष्पक्षरूपमा कार्य गर्दै आफ्नो दायित्व निर्वाह गर्नुपर्छ” भन्ने उनको मूलमन्त्र थियो । यसरी कहिल्यै पनि आफ्नो र आफ्नो पार्टीको मात्र स्वार्थ नहेरी सबैको हित नै आफ्नो हित हो भन्ने पाठ सिकाइ अनुकरणीय उदाहरण दिई २०८० साल माघ १७ गते बुधबारका दिन कालीगण्डकीचोक, गैँडाकोटमा भएको सवारी दुर्घटनामा परी उनी हामीहरूलाई छोडी सदाका लागि बिदा हुन पुगे ।
यस्ता उदाहरणीय व्यक्तित्वको निधनले टोल, छिमेक, इष्टमित्र, बन्धुबान्धव, परिवारजन, समुदाय र राष्ट्रले नै एक सशक्त, लगनशील, इमानदार, नैतिकवान, स्वष्टवक्ता, भेदभावरहित राजनीतिकर्मी, समाजसेवी व्यक्तित्व गुमाउन पुगेको छ । उनले देखाएका सम्पूर्ण कार्यलाई उनी जसरी नै अगाडि बढाउँदै लैजानु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । सम्पूर्ण राजनीतिक पार्टीमा आबद्ध व्यक्तिहरूले उनको जस्तो सच्चा राजनैतिक चरित्र प्रस्तुत गर्न सकेमा मात्र सम्पूर्ण देशले राहत पाउने छ । यस दुःखद घडीमा देहमुक्त आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा पर्न गएको यस शोकलाई शक्तिमा बदल्ने शक्ति भगवान् श्री पशुपतिनाथले प्रदान गर्नुहुनेछ भन्ने आशाका साथ यो शब्दपुष्प अर्पण गर्दछु ।





