मकवानपुर, ५ माघ ।
मकवानपुरकाे हेटौंडामा ‘प्रविधिको विकास र डिजिटल पत्रकारिता-चुनौती र सम्भावना’ विषयक दुइदिने कार्यशाला सुरु भएको छ ।
प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा सुरु कार्यशालाको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै समयसापेक्ष रुपमा पत्रकारहरुले आफूलाई तिखार्न जरुरी रहेको बताए । ‘पहिले एउटा समाचार सुन्नका लागि दुई दिन लाग्ने भएपनि अहिले डिजिटल जमाना भएकोले तत्काल सुन्न र हेर्न पाइने अवस्था रहेको छ’ उनले भने ।
व्यावसायीक पत्रकारिता गर्न आग्रह गर्दै पौडेलले पत्रकारहरुले यो वा उ संगठन भनेर मात्रै नहिँड्न सुझाव दिए । उनले कार्यशालाबाट डिजिटल पत्रकारिताका बारेमा केही सिकाइ लिन र प्रयोग गर्न आग्रह समेत गरे । कार्यशालामा बागमती प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटाले ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावनाका विषयमा प्रशिक्षण दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले अहिले प्रविधिमा नयाँ पत्रकारको पुस्ता अभ्यस्त भएको बताउँदै यस्ता कार्यशालाले पत्रकारिता क्षेत्रको पुराना पुस्ताका अनुभव ज्ञान र नयाँ पुस्ताको क्षमतालाई पत्रकारितामा प्रयोगको निम्ति सकारात्मक हुने बताए ।
कार्यशालामा नेपाल पत्रकार महासङ्घ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि हुमागाईं, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीलगायतकाले शुभकामना व्यक्त गरेका थिए । कार्यशालामा प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिव प्रकास दाहाल, पूर्व केन्द्रीय सदस्यहरु उज्वल अधिकारी, दिपेन्द्र रोक्का, चौतारीका निवर्तमान अध्यक्ष धर्मेन्द्र दाहाललगायतकाको आतिथ्यता रहेको थियो ।
चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यशाला माघ ६ गते शनिबारसम्म संचालन हुनेछ । कार्यशालामा मकवानपुरका ४० जना पत्रकारहरुको सहभागिता रहेको बताइएकाे छ ।




