मकवानपुर, ५ माघ ।
मकवानपुर प्रहरीले पेस्ताेलसहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । हिमाली नगरपालिका- १ बाजुरा बस्ने ३१ वर्षीय देवबहादुर थापा तथा कावासोती नगरपालिका- ५ नवलपरासी बस्ने ५७ वर्षीय वीरबहादुर थापा मगरलाई पेस्तोलसहित नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
शुक्रबार चितवनबाट काकडभिट्टातर्फ जादै गरेको मे.१ ख.२५३७ नम्बरको यात्रु बाहक बसलाई हेटौंडा- १५ स्थित पूर्वपश्चिम सडकखण्डमा जाँच गर्ने क्रममा बसमा सवार देवबहादुरले बोकेको कालो झोला भित्र पेस्तोल- १ थान, गोली थान-१, दुई वटा प्लास्टिकमा सेतो कलरको पाउडर जस्तो देखिने धुलो पदार्थ २ किलो ७ सय ग्राम फेलापरेकाे मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरीले देवबहादुरसँगै यात्रा गरेका वीरबहादुरलाई समेत दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे जनाएकाे छ ।




