देवचुली, २६ पुस ।
देवचुली नगरपालिकामा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र वडा युवा तथा खेलकुद विकास समिति देवचुली ८ को सह आयोजनामा बिहीबारदेखि देवचुली- ७ को सेन्टरप्लट खेलमैदान रामबासमा प्रतियोगिता सुरु गरिएको हो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षता भएको उद्घाटन खेलमा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी उदघाटन खेलमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, जिल्ला खेलकुद विकास समितिका सचिव गिरिराज गौतम, विभिन्न वडाका अध्यक्ष लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख तिवारीले युवाहरुको खेलप्रतिको लगावलाई मध्यनजर गर्दै प्रतिभावान खेलाडी उत्पादन गर्ने अवसर प्रदान गर्ने र वडाभन्दा माथिल्ला स्तरका प्रतिष्पर्धाका लागि उत्कृष्ट खेलाडी पहिचान गर्दै नगरस्तरीय फुटबल टिम निर्माण गर्न प्रतियोगिता उपयोगी हुने बताइन् । नगरपालिकाले खेलकुदको प्रवर्द्धनका लागि सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । वडा खेलकुद विकास समितिका अध्यक्ष सुरज सोतीको स्वागत रहेको उद्घाटन खेलको सहजीकरण नगर खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले गरेका थिए ।
उदघाटन खेलमा देवचुली- १ ले देवचुली ८ लाई ५-१ गोल अन्तरले पराजित गरेको छ । देवचुली- १ विजयी भएसँगै दोस्रो चरण प्रवेश गरेको छ । देवचुली- १ बाट रोशन गुरौले ३ गोल, निशान थनेत र सनसाइन मल्लले १/१ गोल गरेका थिए भने देवचुली- ८ बाट टीकाप्रसाद लुंगेली मगरले १ गोल गरेका थिए ।
देवचुली नगरपालिका भित्रका १६ वडाका १७ टिमबीच प्रतिष्पर्धा हुने प्रतियोगितामा प्रथम हुने वडाले नगद ४० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने वडाले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको वडा युवा तथा खेलकुद विकास समिति देवचुली ८ का अध्यक्ष सुरज सोतीले बताए।प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल देवचुली ९ का विरुद्ध देवचुली १० र दोस्रो खेल देवचुली ३ का विरुद्ध देवचुली १५ बिच हुने आयोजकले जनाएको छ।




