भरतपुर, २६ पुस ।
सर्लाही जिल्ला अदालतले तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।
बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
उनका अनुसार बिहीबार सात जना वकिलहरूले बहस गरेका छन् ।
प्रतिवादी बमजनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन् । बमजनले १८ वर्षकी किशोरीलाई बालयौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो ।
बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका-६ हात्तिगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो ।
लामो समयदेखि फरार रहेका बमजनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले मंगलबार पक्राउ गरेको हो । प्रहरी घर पुग्दा उनले भाग्ने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् । उनलाई बिहीबार सिआइबीले सार्वजनिक गरेको थियो । बुधबार नै हवाइ माध्यम मार्फत लग्ने प्रयास प्रहरीको थियो । तर टिकट नपाएपछि स्थलमार्गमार्फत राति सर्लाही पुर्याइएको थियो ।




