ललितपुर, ६ कात्तिक ।
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना पुष्प विकास केन्द्रको सहआयोजना र कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रबर्द्धन केन्द्रको सहयोगमा यस वर्ष पनि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको हो ।
`रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ हुन लागेको ‘१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८०’ ललितपुरको जावलाखेल खेल मैदानमा कात्तिक १४ गतेदेखि १८ गतेसम्म ५ दिन चल्ने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार मेलामा विभिन्न नर्सरीहरुद्वारा उत्पादित गोदावरी फूलको (पट भेराईटी) इन्कर्भ वा इन्टर मिडियट, रेफ्लेक्स, स्पाईडर र मिनियचर बिधामा प्रतियोगिता गराई पहिलो, दोस्रो र तेस्रो हुने नर्सरीलाई पुरस्कृत गरिने छ । साथै गोदावरी फूलको कट फ्लावर बिधामा समेत प्रतिस्पर्धा गराई उत्कृष्ट हुने गोदावरी फूलका कट फ्लावर उत्पादकलाई पुरस्कृत गरिने छ ।
त्यस्तै, हरेक दिन मेला अवलोकनकर्ताहरु मध्ये लक्की ड्रमार्फत विजेता हुन सफल १ जनालाई आकर्षक पुरस्कार उपलब्ध गराइने बताइएको छ । विभिन्न नर्सरीहरुको उत्पादन सहित एकै थलोमा जमघट हुने, विभिन्न प्रकारका फूल बिरुवाहरुको प्रदर्शनी तथा बिक्री हुने, गोदावरी फूलको शौखिन, संकलन कर्ता र व्यवसायीहरुबीच गोदावरी फूलको विविधता बारे सूचना आदानप्रदान हुने फ्लोरिकल्चर एशोसिएसन नेपालको दाबी छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलामा पूष्प सम्बन्धि बिउबिजन, मल, बिषादी, औजार उपकरण तथा पुष्प व्यवसायको आधुनिक खेती प्रविधिबारे जानकारीसमेत दिइने बताइएको छ ।





