नारायणगढमा निकालियो रोपाइँ जात्रा

भरतपुर, २० भदौ ।
कृष्ण जन्माष्टमीका दिन नारायणगढमा रोपाइँ जात्रा निकालिएको छ । जिल्लाको पुरानो सांस्कृतिक संस्था नारायणी कला मन्दिरले २०४८ सालदेखि रोपाइँ जात्रा आयोजना गर्दै आएको छ ।

नेवार समुदायले निकाल्ने रोपाइँ जात्रामा नेवारमात्रै नभएर पछिल्लोपटक सबै समुदायका मानिसहरू सहभागी हुन थालेका नारायणी कला मन्दिरका अध्यक्ष सुबिर श्रेष्ठले बताए । `पहिला पहिला नेवार समुदायको कुनै एक खास घरबाट जात्रा निस्केर बजार र टोल घुम्ने चलन थियो । पछि बस्ती बढ्दै गएपछि नारायणगढमा नारायणी कला मन्दिरले जात्रा निकाल्न सुरु गरेको हो ।´ अध्यक्ष श्रेष्ठले बताए ।

जात्रामा बालबालिकाहरू राधा र कृष्णको भेषमा भाग लिएका थिए । ९० जना बालबालिका सिंगारिएर जात्रामा सहभागी थिए । बुधबार दिउँसो कला मन्दिर परिसरबाट निस्केको जात्रा बजार घुमेर कला मन्दिरमै फर्केको थियो ।

हातमा धान दिएर खेत रोपेको अभिनय गर्नेहरूले जात्रालाई रमाइलो बनाएका थिए । पञ्चेबाजाको धुनमा ताल मिलाउँदै धान रोपेको अभिनयका साथ जात्राका सहभागीहरू बजार डुलेका थिए ।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष प्रभातकुमार जोशीका अनुसार पहिलेपहिले जुन घरबाट जात्रा निस्कने गर्दछ, त्यो घरमा छोरा जन्मन्छ भन्ने मान्यता भए पनि अहिले यो विशुद्ध संस्कृति जगेर्नाको लागि गरिएको हो । `रोपाइँ सकिएपछि फुर्सद हुने र बर्खाका बेला सुस्ताएको आर्थिक क्रियाकलाप फेरि सुरु होस् भन्ने उद्देश्यले पनि जात्रा निस्कने परम्परा बसेको हो,’ जोशीले भने ।

अपरान्ह निकालिने रोपाई जात्राको पूर्वसूचना दिन बुधबार बिहान नारायणगढमा `हो पाँचो हो !´ गरिएको थियो । नारायणी कला मन्दिरका कार्यसमिति सदस्य अग्रज गणेशकुमार विपना ८२ बर्षको उमेरमा पनि जात्रा मनाउन सक्रिय थिए । उनले कला र संस्कृति जगेर्ना गर्नका लागि निरन्तर योगदान दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट