राप्ती, ३२ साउन ।
आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि राप्तीको आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै पाँच गुणाले बढेको छ । भण्डारा अस्पतालसँगै रहेको आँखा उपचार केन्द्रमा पहिलोपटक यति धेरै संख्यामा आँखाका बिरामी उपचार गराउन आएका हुन् ।
नेपाल नेत्र ज्योति संघ, चितवनको सहकार्यमा करिब ५ महिना अघि स्थापित यो आँखा उपचार केन्द्रमा विगत केही दिनदेखि बिरामीको संख्या उल्लेख बढेको हो । एक नेत्र सहायक र एक अप्टिकल डिस्पेन्सरको भरमा संचालित यो केन्द्रमा भीड बढेसँगै जनशक्ति व्यवस्थापन र गुणस्तरीय उपचारमा चुनौती देखिएको छ ।
अघिपछि औसत आठ दस जनामात्रै बिरामी आउने गरेको भए पनि आँखा पाक्ने रोग समुदाय स्तरमै फैलिएकोले बिरामीको संख्या उल्लेख्य बढेको केन्द्रकी नेत्र सहायक कल्पना शर्माले बताइन् । उनले भनिन्, ‘म आएको केही दिनमात्रै भएको छ । तर तथ्यांक हेर्दा आठ दस दिन यता बिरामी ह्वात्तै बढेको छ ।’
शर्माका अनुसार केन्द्रमा आएका बिरामीमध्ये झण्डै ९० प्रतिशतमा कन्जक्टिवाइटिस सङ्क्रमण देखिएको छ । यो रोग लागेको खण्डमा आँखा चिलाउने, घोच्ने, पोल्ने, सुन्निने तथा रातो देखिने, चिप्रा लाग्ने जस्ता लक्षण देखिने उनले बताइन् ।
केन्द्रको तथ्यांक अनुसार श्रावण १ गतेदेखि २९ गतेसम्ममा ४७६ जना बिरामीले सेवा लिएका छन् । जसमध्ये साउन २९ गते सबैभन्दा धेरै अर्थात् ७० जनाले सेवा लिएको केन्द्रकी अप्टिकल डिस्पेन्सर कृष्णमाया लामाले बताइन् । २२ गते ६२ जनाले सेवा लिएको उनको भनाइ छ ।
राप्ती नगरपालिका वडा नम्बर ४ का भक्तबहादुर श्रेष्ठले तीन चार दिनदेखि आँखा चिलाउने, पोल्ने हुन थालेको भन्दै आँखा रातो हुने, घोच्न थालेपछि उपचारको लागि आँखा उपचार केन्द्रमा आएको उनले बताए । भक्तबहादुर मात्रै होइन राप्तीको धेरै स्थानीय यतिबेला आँखा पाक्ने रोगको संक्रमण सिकार बनेका छन् । सानासाना बालबालिकादेखि प्रौढ उमेरसम्मका व्यक्तिहरु समेत आँखा पाक्ने रोगबाट ग्रसित भएका छन् । जसको कारण उपचारको लागि आउनेहरु बढेका हुन् ।
पालिकामा आँखा पाक्ने रोग फैलदै गएकोले ब्यक्तिगत सरसफाइमा ध्यान दिन राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाको आग्रह छ । रोग लाग्न नदिन सङ्क्रमित बिरामीबाट टाढै रहने र चिकित्सकको सल्लाह अनुसार मात्रै औषधि प्रयोग गर्नु पर्ने उनले बताए ।
आँखा पाक्ने रोगको समयमै उपचार नभएमा आँखाको नानीमा मसिना घाउ हुन सक्ने चिकित्सकहरुको भनाइ छ । बिरामीको नजिक नजाने, समय समयमा हात धुने, बिरामीले प्रयोग गरेको सामानहरु प्रयोग नगर्ने तथा हातले आँखा नछुन चिकित्सकहरुको सुझाव छ ।





