नवौँ फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त इंग्ल्यान्ड र स्पेनले पक्का गरेका छन् । इंग्ल्यान्डले सिड्नीमा बुधबार भएको दोस्रो सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३–१ ले हराउँदै स्पेनसँगको फाइनल समीकरण तयार गरेको हो । फाइनल पुगेका दुवै राष्ट्र नयाँ हुन् । यसपटकको विश्वकपले नयाँ विश्वविजेता दिनेछ । यसअघि पूर्वविजेताहरू अमेरिका प्रिक्वार्टरफाइनल, जर्मनी समूह चरण र जापान क्वार्टरफाइनलबाटै बाहिरिएपछि चालू विश्वकपमा नयाँ विश्वविजेता पाउने निश्चित भएको हो ।
स्पेनले पहिलो सेमिफाइनलमा उपाधिकै प्रबल दाबेदार स्विडेनमाथि २–१ को सनसनी जित निकालेको थियो । अस्ट्रेलियाले १९ अगस्टमा तेस्रो स्थानका लागि स्विडेनको सामना गर्नेछ । पहिलोपटक विश्वकपको फाइनल स्थान बनाउने क्रममा इंग्ल्यान्डले अस्ट्रेलियामाथि दबाब राखेको थियो । इंग्ल्यान्डले सन् २०१५ मा तेस्रो र सन् २०१९ मा चौथो स्थान प्राप्त गरेको थियो । महिला विश्वकप इतिहासमा इंग्ल्यान्डको अहिलेसम्मको उत्कृष्ट नतिजा यही नै हो । सन् १९६६ मा पुरुषतर्फको इंग्लिस टोलीले फाइनल स्थान बनाउँदै उपाधि जितेको थियो । त्यसयता पुरुष तथा महिलातर्फ इंग्लिस टोली विश्वकपको फाइनल पुगेको यही नै हो ।
इंग्ल्यान्डलाई अन्तिम दुई स्थान सुरक्षित गराउन एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले एक–एक गोल गरेका थिए । घरेलु टोलीबाट कप्तान सामन्था खेरले एक गोल फर्काइन् । युरोपियन च्याम्पियनसमेत रहेको इंग्ल्यान्डले खेलमा पूर्ण नियन्त्रण राखेको थियो । इंग्ल्यान्डले ५८ र अस्ट्रेलियाले ४२ प्रतिशत बल पोसेसन बनाएका थिए । दोस्रो सेमिफाइनलमा दुवै टोली आक्रामक देखिएका थिए । अस्ट्रेलियाले १२ र इंग्ल्यान्डले १५ पटक गोल प्रयास गरेका थिए ।
इंग्ल्यान्डले पाँच सट अन टार्गेट र अस्ट्रेलियाको चार रह्यो । पहिलो १५ मिनेटमा इंग्ल्यान्डले ७० प्रतिशत बलमाथि पकड बनायो । यद्यपि, इंग्ल्यान्ड पूर्ण रूपमा हावी भए पनि गोल गर्न सकेको थिएन । अस्ट्रेलियाका प्रशिक्षक गुस्ताभसनले ९० मिनेटको प्रतिस्पर्धा रोमाञ्चक भएको प्रतिक्रिया दिएका छन् । ‘इंग्ल्यान्डविरुद्धको सेमिफाइनल पूरै रोमाञ्चक भयो, हामीले विश्वस्तरीय गोल हेर्ने अवसर पायौँ,’ उनले भने, ‘यद्यपि, सेमिफाइनलबाट बाहिरिए पनि टोलीको प्रदर्शनमा गर्व छ ।’
इंग्ल्यान्डकी प्रशिक्षक वेगम्यानले प्रतिस्पर्धात्मक खेलमा नतिजा निकाल्न गाह्रो भएको जनाइन् । ‘हामीले खेलमा पूर्ण नियन्त्रण राखे पनि अस्ट्रेलियाको डिफेन्स पहिलो हाफमा खासै तोड्न सकेनौँ,’ उनले भनिन्, ‘खेलमा ट्याकल, ब्लक र पेस सबै देख्न पायौँ ।’





