भरतपुर, ९ असार
भरतपुर महानगरपालिका–१, आँपटारीमा निर्माण गरिएको सार्वजनिक शौचालय र यात्रु प्रतीक्षालय सामुदायिक वनलाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी तथा सरसफाइ डिभिजन नम्बर १ मकवानपुरले निर्माण गरेको शौचालय र लायन्स क्लब अफ नारायणगढ बालकुमारीले निर्माण गरेको कुरुवा घर एवं यात्रु प्रतीक्षालय जलदेवी सामुदायिक वनलाई हस्तान्तरण गरिएको हो ।
महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार संरचना हस्तान्तरण गर्दै भरतपुर महानगर सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण गर्ने योजनामा रहेको बताइन् । मुख्यतः नारायणी नदी किनार, वीरेन्द्र क्याम्पस गेट र चौबीसकोठीमा स्मार्ट शौचालय निर्माण गर्न लागिएको उनले जानकारी दिइन् । यात्रुहरूलाई समस्या नहुने गरी महानगरलाई स्वच्छ राख्न सवारीसाधनको चाप बढी हुने स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको दाहालले बताइन् । शौचालय निर्माणसँगै सञ्चालनको प्रक्रिया चुनौतीपूर्ण हुने भन्दै उनले यसलाई दिगोरूपमा सञ्चालन गर्नु जरुरी रहेको बताइन् ।
खानेपानी तथा सरसफाइ डिभिजन नं १ को ३२ लाख २० हजार दुई सय एक रुपैयाँको लागतमा निर्माण गरिएको शौचालय र लायन्स क्लब अफ नारायणगढ़ बालकुमारीको १० लाख ९० हजार रुपैयाँको लागतमा निर्माण गरिएको शौचालय कुरुवाघर एवं २०२१-२२ को तत्कालीन लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ को नेपाल लायन्स फाउण्डेशन मार्फत लायन्स क्लब अफ वागेश्वरी, लायन्स क्लब अफ भरतपुर हाईट र लायन्स क्लब अफ नारायणगढ़ बालकुमारीलाई प्रदान गरिएको रु ४ लाख पचास हजार तथा लायन्स क्लब अफ नारायणगढ़ बालकुमारीका पूर्व अध्यक्ष बाल गोपाल चुकेको २ लाख गरी कुल ६ लाख पचास हजारमा निर्माण सम्पन्न यात्रु प्रतीक्षालय सामुदायिक वनका अध्यक्ष माधव देवकोटालाई हस्तान्तरण गरिएको हो । डिभिजन नं १ का प्रमुख इन्जिनियर सन्तोषकुमार श्रेष्ठले जिल्लाका तीन स्थानमा शौचालय निर्माणको काम गरेको बताए । आँपटारी, देवघाट र मुग्लिनमा सार्वजनिक शौचालय निर्माणको काम गरिएको उनले जानकारी दिए ।
यात्रुलाई शौच गर्न सहज होस् भनी राजमार्ग छेउमा शौचालय निर्माणको काम गरिएको हो । आँपटारी र देवघाटको शौचालय सञ्चालनमा आएको र मुग्लिनको सञ्चालन तयारीमा रहेको उनको भनाइ थियो । यस कार्यालयले भरतपुरमा मात्रै १३ वटा ठूला खानेपानी आयोजनाको काम गरिरहेको छ ।
हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले यात्रुले सेवा लिने ठाउँ भएकाले यसको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे ।





