सागर उदासको ‘फैलिन्छ कि माया’ गीतसङ्ग्रहभित्र प्रेमको धून

हरेक भेटमा मुसुक्क मुस्कुराए बोल्ने प्रेमिल व्यक्तित्व सागर उदास प्रेमका गीत लेख्न माहिर छन् । हालसम्म तीनवटा गीतका कृति र दुईवटा गीति एल्बम बजारमा ल्याइसकेका उनको ‘फैलिन्छ कि माया’ (२०७९) नामक गीतसङ्ग्रह त्यस्तै प्रेमको मसीले प्रेमकै कागतमा लेखेर तयार पारिएको प्रेमका गीतहरुको सञ्ययन हो ।

आरम्भमा प्रेमका कुरा
प्रेम के हो ? यो कस्तो हुन्छ ? यो कस्तो हुनुपर्छ ? यसका बारेमा अनेकौँ बहसहरु भएका छन् । यसलाई परिभाषामा बाँध्नु र सूत्रभित्र समेट्नु असम्भवप्रायः छ । तैपनि प्रेम संसारको शाश्वत भाव हो भनेर चाहिँ ढुक्कैले भन्न सकिन्छ । यसलाई मान्छेले भाषाको आविष्कार गरेदेखि आ–आफ्नै तरिकाले व्याख्या गर्न थालेको हो । कविता लेखिन थालेदेखि कविहरुले पनि विभिन्न कवितामा अभिव्यक्त गरेकै हुन् । अझ त्यो क्रम रोकिएको छैन ।

प्रेम प्राप्ति हो कि त्याग यसका बारेमा पनि विविध बहसहरु भएका छन् । त्यसो त प्रेम मिलन हो कि बिछोड ? शास्वत प्रेम कस्तो हुन्छ ? किन मानिस सधैँ प्रेमका पछाडि मरिहत्ते गरेर लाग्छ ? यसका बारेमा अझै ठूला अनुसन्धानहरु हुनु जरुरी छ । तर सधैँ कविहरुले अनुसन्धान होइन, कविता, गीत, गजल आदिजस्ता काव्यात्मक धूनका माध्यमबाट प्रेमलाई अभिव्यक्त गरिहेका छन् । यस्तै प्रेमका कविता, गजल र गीत लेख्ने अथक स्रष्टा हुन्, सागर उदास ।

परिचयका वृत्तमा सागर उदास
प्रेमिल व्यक्तित्व सागर उदासलाई जोकसैले भेट्दा पनि मुसुक्क नमुस्काई उनी बोल्न जान्दैनन् । उनीसँग मेरो भेट भएको पनि करिब डेढ दशक भइसक्यो । उनको र मेरो सम्बन्ध उस्तै छ, प्रेम उस्तै छ । त्यसो त उनी सबैसँग उत्तिकै प्रेमले बोल्छन् र प्रेमपूर्ण व्यवहार गर्छन् । यस्तो लाग्छ, उनी यो धर्तीमा प्रेम गर्नका लागि नै जन्मिएका हुन् । सोही कुराको अभिव्यक्ति उनले रचना गर्ने साहित्यमा पनि प्रतिबिम्बित भएको पाइन्छ ।
हाल दमौली बस्ने अर्जुन अधिकारी नेपाली साहित्यमा सागर उदासका नामले चिनिन्छन् । उनको जन्म प्रवासी मुलुक बर्मामा भएको हो । उता जन्मिएर दूधे बालक छँदा नेपाल ल्याइएका उनले बाल्यकालमा तनहुँ, चितवन, झापा लगायतका नेपालका विभिन्न भूभागमा आफ्नो समय बिताए । पछिल्लो समय उनी तनहुँको दमौलीमा व्यापार, व्यवसाय गर्दै साहित्य सिर्जना र समाजसेवामा दत्तचित्त भएर लागिपरेका छन् । उनका हालसम्म सागरभित्रका कणहरु (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) नामक तीनवटा गीतसङ्ग्रह प्रकाशित छन् भने आभार (२०६०) र रवि (२०७०) जस्ता दुईवटा गीति एल्बम निस्किएका छन् । गीतका अतिरिक्त कविता र मुक्तकमा पनि कलम चलाएका उनको ती विधाका कृति भने प्रकाशित भइसकेका छैनन् ।

प्रेम शास्वत कुरा हो, त्यति हुँदाहुँदै पनि प्रेमका बारेमा बोलिहाल्न भने सजिलो छैन । विगतदेखि हुँदै आएको, वर्तमानमा पनि भइरहेको र भविष्यत्मा पनि हुने निश्चिित भएको प्रेम बहुरुपी खालको भएकाले यसको बारेमा झट्ट बोल्दा निकै जोखिमपूर्ण हुन्छ । तर कविहरुले कविता, गीत वा अन्य विधामा बढी चर्चा गरेको विषय भने प्रेम नै हो । किनकि उनीहरु जाेिखम मोल्न सधैँ तयार हुन्छन् । त्यस्तै जोखिम मोल्न हाम्रो माझ ‘फैलिन्छ कि माया’ (२०७९) नामक गीतसङ्ग्रह लिएर कवि सागर उदास आएका छन् ।

‘फैलिन्छ कि माया’ गीतसङ्ग्रहको सामान्य चिनारी
व्यक्तिगत रुपमा सुशासन अधिकारीको प्रकाशनमा निस्केको कवि सागर उदासको नवीनतम गीत सङ्ग्रह ‘फैलिन्छ कि माया’ (२०७९) माया नै मायाले भरिएको गीतिसञ्चयन हो । कूल १२७ पृष्ठको आयाममा फैलिएको यो कृतिमा जम्मा ११३ वटा विविध भावका गीतहरु सङ्गृहीत छन् ।

‘फैलिन्छ कि माया’मा समाविष्ट गीतको मूल कथ्य प्रेम हो भने यसमा समाजका विविध आयाम पनि समेटिएका छन् । यसभित्र देशप्रेम छ, स्थानीय भूगोलको वर्णन छ र प्रकृतिको सुन्दर चित्रण पनि छ । जीवनका आरोह–अवरोह, पीडा, व्यथा र राजनीतिक विकृतिप्रति व्यङ्ग्य र नरम आक्रोश पनि छ । कविले आफ्ना गीतहरुमा आमा, बाबु, छोरी, प्रेमिका, श्रीमती आदिलाई पनि मनग्गे सम्झेका छन् । यति हुँदाहुँदै पनि मूलतः प्रेम र यसका चोटहरु यस गीति सञ्चयनको केन्द्रीय स्वर हो ।

‘फैलिन्छ कि माया’ गीतसङ्ग्रहमा चित्रित मायाका विविध रङहरू
कवि सागर उदासको गीत सङ्ग्रह ‘फैलिन्छ कि माया’ प्रेम अर्थात् मायाका विविध भावहरू समेटिएको गीति सञ्चयन हो भन्ने कुरा यसअघि पटक पटक भनिएको छ । यसको पुष्टि तलका साक्ष्यहरूले गर्छन् :

क) देशप्रतिको प्रेम
देश भनेको आमा–बाबुभन्दा पनि ठूलो कुरा हो । जसको देश हुँदैन, उसको परिचय पनि हुँदैन । देशभित्र बसेकालाई भन्दा देश छाडेर परदेशमा बस्न विवशहरूले देशको मर्म राम्ररी बुझेका हुन्छन् । देश बनाउन विदेशमा बसेर हुँदैन स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देश गीतमा यसरी दिएको पाइन्छ ः
सबै दाजु भाइ घरदेश फर्किएर आऊ,
बाबा आमाको छातीमा लागेको छ घाउ । (पृ. १२७)
+ + +
मेरो देश बाँची रहोस् रहिञ्जेल रवि,
शिखरमा पु¥याउनु छ यो देशको छवि । (पृ. १२०)

ख) देशवासीप्रतिको प्रेम
कवि देशलाई मात्र होइन, देशमा बस्ने सारा जनतालाई पनि उत्तिकै प्रेम गर्छन् । उनी अरुले झार्नुपर्ने आँसु पनि आफूले झारेर देशबासीका आँखामा खुसी देख्न चाहन्छन् । हेरौँ एउटा उदाहरण :
जति झर्नु आँसु मेरै आँखाबाट झरोस्,
कुनै नेपालीले कहिल्यै रुन नपरोस् । (पृ. १२१)

ग) प्रकृतिप्रतिको प्रेम
कवि प्रकृतिको प्रेममा लट्ठ परेका छन् । उनी नेपालको हिमाल हेरेर हाँस्न चाहन्छन् भने गुराँसको लालीसँग यसरी जोवन साँट्न चाहन्छन् :
बिहानीमा हिमाल हेरी हाँसौँ हाँसौ लाग्छ
गुराँको लालीसँग जोवन साटौँ साटौँ लाग्छ । (पृ. १८)

घ) स्थानीय भूगोगप्रतिको प्रेम
कवि सागर उदास बर्मामा जन्मेका भए पनि उनको अहिलेको भूगोल भनेको तनहुँको भूगोल हो । उनी त्यही भूगोलको महिमा यसरी प्रेमपूर्वक गाउँछन् :
शिर हाम्रो छिम्केश्वरी मिर्लुङ्ग तनहुँसुर,
तस्बीर बनी आँखै अघि आउँछ बन्दीपुर । (पृ. २२)

ङ) जीवनप्रति प्रेम
मान्छेसँग नै हो पीर व्यथा हुने । जनावरलाई त एक पेट खान पाए पुग्छ । मान्छेसँग भावना हुने भएकाले असल खराबको परख गर्न सक्छ । असल मान्छेले जीवनलाई सधैँ प्रेम गर्छ भन्ने भावलाई कविले यसरी मुखरित गरेका छन् ः
असल मान्छे त्यही हुन्छ जो दुःखमा हाँस्ने गर्छ,
पीर व्यथा लुकाएर जीवनमा बाँच्ने गर्छ । (पृ. २५)

च) निष्ठुरीप्रति प्रेम
कवि पीडा दिएर जाने निष्ठुरीलाई उत्तिकै प्रेम र सम्मान गर्छन् । उसको यादमा आफूलाई गलाउने होइन, जीवन चलाउने प्रण गर्छन् । उनी छाडी जानेलाई पनि यसरी प्रेम दर्शाउँछन् ः
पीडा दिई दुखाएर जान्छै भने जाऊ
आफ्नै शिर झुकाएर जान्छौ भने जाऊ
छोडी गयौ भन्दिन म एक्ले भए मर्छु
जीवनमा फेरि पनि बाँच्ने कोसिस गर्छु । (पृ. १०९)

छ) आमालाई गरिने प्रेम
आमा सृष्टिको अनुपम सृजना हो । त्यसो त यो सृष्टिमा आमाको सृजना नै प्रेम गर्नका लागि गरिएको हो । कविले आमाको काखलाई प्रेमको अजस्र भण्डार ठान्दै यस्ता भावहरु राखेको पाइन्छ :
ममता चुक्न दिन्न म त बजारमा,
मेरी आमा एउटी लाखौँ हजारमा । (पृ. ११२)
+ + +
जन्मेदेखि बाल बैँस त्यै आमाको भरमा,
चारैतिर झलम आमा हुँदा घरमा । (पृ. ८६)

ज) प्रेममा हुने प्रतीक्षाको चित्रण
त्यसो त प्रेम बजारमा बेच्न राखिएको सामान होइन, गयो, पैसा ति¥यो, किनेर ल्यायो । प्रेम पाउन लामो प्रतीक्षा पनि गर्नुपर्ने हुन्छ । यस्तो कुरालाई कवि यसरी मुखरित गर्छन् ः
एउटै रै’छ मन हाम्रो प्रीति गाँसिन्छ कि
सधैँ सधैँ भेट हुँदा मनै साटिन्छ कि ? (पृ. १९)

झ) प्रेममा हुने विछोडको चित्रण
प्रेम भनेको पाउनु मात्र होइन, गुमाउनु पनि हो; मिलन मात्र होइन, विछोड पनि हो । हामी मिलनमा रमाउँछौँ, तर प्रायः अमर प्रेममा विछोड नै हुने गर्छ । कविले जीवनमा यस्ता बिछोडहरु प्रशस्तै भोगेका छन् । उनका अधिकतर गीतमा यस्तै विछोडका भावनालाई मुखरित गरिएको पाइन्छ । यहाँ तिनको साक्ष्यका रुपमा हेरौँ केही फाँकी गीतका टुक्रा :
धड्कन धेरै बढ्दा खेरी मुटुलाई छोइ रहेँ,
तिम्ले नेटो काटेपछि एकान्तमा रोइ रहेँ । (पृ.१५)
+ + +
शीतल बस्ने चौतारीको कतै छाया छैन,
के नै रह्यो जिन्दगीमा जब माया छैन । (पृ. १६)

यसरी कवि सागर उदासको ‘फैलिन्छ कि माया’ गीतसङ्ग्रहमा प्रेमका विविध रुपहरु देख्न सकिने कुराको पुष्टि हुन्छ । यी त केवल साक्ष्य मात्र हुन् । समग्रमा बुझ्न र साक्षात्कार गर्न त कृतिभित्रै पस्नुपर्ने हुन्छ ।

समापनका शब्द
कवि सागर उदासको ‘फैलिन्छ कि माया’ गीतसङ्ग्रह प्रेमको काव्यात्मक दस्तावेज हो । यसभित्र गीतमार्फत् प्रेमका विविध भावहरू तरङ्गित भएका छन् । त्यति मात्र नभएर प्रेममय तवरबाट मायालुका हर्कतप्रति शिष्ट विद्रोह पनि गरिएको छ । जसलाई तलको साक्ष्यमा देख्न पाइन्छ ः
पहिले भने सगरमाथा चुली चढायौ,
अहिले भने मस्र्याङ्दीको तिरमा पुर्‍यायौ । (पृ. १२३)
समग्रमा ‘फैलिन्छ कि माया’ गीतसङ्ग्रह प्रेमको मसीले प्रेमकै कागजमा कोरिएको प्रेमिल गीतहरूको सञ्चयन हो । यसमा सरल शब्दमा प्रेमलाई सरल ढङ्गले उतार्ने काम भएको छ । कवि सागर उदासलाई यति प्रेमिल गीतहरु सिर्जना गरेको प्रेमपूर्वक बधाई भन्दै छिट्टै उनका कविता, गजल र मुक्तकका कृति पढ्न पाइयोस् भन्ने शुभकामना सहित कलम रोक्छु ।

(– समीक्षक प्रभात वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनका उपप्राध्यापक हुन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट