भ्रष्टाचारविरूद्ध सडकमा कवितावाचन

भरतपुर, २९ वैशाख ।
चितवनका कवि, कलाकार तथा सामाजिक अभियन्ताहरू भ्रष्टाचारका विरूद्ध सडकमा ओर्लिएका छन् ।

बिहीबार भरतपुरको चौबिसकोठीमा कविहरूले भ्रष्टाचारविरूद्धका कविता वाचन गरे ।

‘भ्रष्टाचारविरूद्ध सडक कविता’ कार्यक्रममा उपस्थित कविहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन सरकारलाई आग्रह गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले उच्च पदस्थहरूलाई पनि पक्राउ गरेकोप्रति धन्यवाद दिँदै उनीहरूले यसलाई कायम राख्न कवितामार्फत दबाब दिएका थिए । उनीहरूले दोषीलाई कडा कारबाही गर्न माग गरे ।

कार्यक्रममा चित्रकार प्रकाश थापाले ‘ट्रेलर’ र ‘फिलिम’ शीर्षकका कार्टुन प्रदर्शन गरेका थिए । तीन दर्जन स्रष्टाले आफ्ना रचनाहरू सुनाएको कार्यक्रमका संयोजक कवि भूपिन खड्काले जानकारी दिए । `भ्रष्टाचारमा जोसुकैको नाम मुछिए पनि अनुसन्धानको दायरामा ल्याएर दोषी देखिएको खण्डमा कारबाही हुनुपर्छ´, भूपिनले भने – `कोही कसैलाई जोगाउनु आवश्यक छैन । भ्रष्टाचारीलाई हदैसम्मको कारबाही होस् । यसैमा ऐक्यबद्धता जनाउँदै यो कार्यक्रमको आयोजना गरेका हौँ ।´

बिहीबार नै भ्रष्टाचारविरूद्ध एकता अभियान नामको संस्थाले पनि चौबिसकोठीमै दबाबमूलक कार्यक्रम गरेको थियो ।

‘अहँ हुँदै हुन्न, भ्रष्टाचार सहनै हुन्न’ लेखिएको ब्यानर र प्लाकार्ड बोकेका सामाजिक अभियन्ताहरूले सरकारले सुरू गरेको कामलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा वाम बुद्धिजीवी प्रेम रिमालले परिवर्तनका लागि सबै क्षेत्रका नागरिकले एकजुट भएर दबाब दिनुपर्ने बताए ।

‘कुनै पनि भ्रष्टाचारीको पार्टी, धर्म, लिंग हुँदैन । जसरी गिद्धहरू फरकफरक भए पनि सबैभन्दा मनपर्ने सिनो हुन्छ, भ्रष्टाचारीहरूलाई पनि हामीले गिद्धकै रूपमा बुझेर व्यवहार गर्नुपर्छ । गिद्धलाई बचाउन हामीले काम गरिरहेका छौं तर भ्रष्टाचारीलाई सदाका निम्ति समाजबाट बिदा गर्न हामीले व्यवहारबाटै काम गर्नुपर्छ,’ उनले भने, ‘भ्रष्टाचारविरूद्धको आन्दोलनलाई अझै शक्तिशाली बनाउनुपर्‍यो ।’

भ्रष्टाचारविरूद्ध जागरण अभियानले शुक्रबार बिहान नारायणगढमा कार्यक्रम गर्दैछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट