भरतपुर, २९ वैशाख ।
चितवनमा फरक विचारको उत्सवको रूपमा ‘चित्तौन कचेहेरी’ हुँदैछ । विभिन्न ६ वटा संस्थाहरूको आयोजनामा नारायणगढको नारायणी कला मन्दिरमा आज र भोलि `चित्तौन कचेहेरी´ गर्न लागिएको हो ।
यो कार्यक्रम मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्तरूपमा आयोजना गर्न लागेका हुन् ।
‘चित्तौन कचेहेरी’मा १२ वटा सत्र हुनेछन् । जसमध्ये चितवन उपत्यकामा कसरी बस्तीहरू बसे र कसरी यहाँको सभ्यता विकसित भयो भन्नेबारे मुख्य विषय रहनेछ । विकास–विमर्श, कृषि, रैथाने भाषा–साहित्य, न्यायको लडाइँ, राजनीति, आदिवासी, जात, निकुञ्जलगायतका विषयमा विभिन्न सत्रहरू रहनेछन् ।
कचेहेरीमा चितवन र समग्र देशको समस्या र सम्भावनाहरू खोतल्ने गरी प्यानल छलफल तथा नाटक, साहित्य प्रस्तुत गरिने आयोजक समितिका संयोजक सरिता तिवारीले बताइन् ।
कार्यक्रममा मान्छेका जीवन-मरणका विषयहरू उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने उनले बताइन् ।
कचेहेरीको पहिलो दिन ७ वटा विषयमा प्यानल छलफल हुनेछ । `घर गाउँको सिंहदरबारः कति विकास, कति शासन ?, कृषिमा उद्यमशीलताः कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसाः यथार्थ र भाष्य पानी र पर्यावरणः नदी र भूमिगत जलाधारको दुर्दशा, अस्थित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति’ विषयमा शुक्रबार प्यानल छलफल हुनेछ ।
शुक्रबार नै `थाहा ? सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा´ नाटक प्रस्तुत गरिने तिवारीले बताइन् । साथै कविता वाचनको कार्यक्रम पनि हुनेछ ।
वैशाख ३० गते शनिबार ‘विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्था : समाज अघि बढ्दैछ कि पछि ?, कसरी लेखिँदैछ चितवनको आख्यान ?, मधेश र सत्ता, रैथाने भाषाको साहित्य, चितवन : हिजो, आज र भोलि’ शीर्षकमा प्यान छलफल हुनेछ ।
‘स्वप्नबयान’ नाटक प्रस्तुति र गजल वाचन कार्यक्रम पनि शनिबार रहेको छ । उत्सवमा बुक स्टल र फुड स्टल पनि रहनेछ ।





