भरतपुर, २४ वैशाख ।
चितवन सहायता कोष (क्याट)ले भरतपुर-२१ स्थित अन्नपूर्णा माविमा अक्षयकोष स्थापना गरेको छ । कोषका अध्यक्ष रितेशराज पाण्डे, महासचिव रमेशकुमार श्रेष्ठ र पूर्व अध्यक्ष हिमाल गुरूङको उपस्थितिमा विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नकालागि रू. एक लाखको चितवन एड ट्रष्ट युके नामक छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो । दाताहरूले रू. एक लाखको चेक एक कार्यक्रमकाबिच आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेललाई हस्तान्तरण गरे ।
कार्यक्रममा यस छात्रवृत्ति रकम उपलब्ध गराउने प्रक्रियामा विशेष भूमिका निर्वाह गरेका वडा नम्बर- २१ का वडाध्यक्ष कृष्णकुमार गुरूङ र चारजना वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघका अध्यक्ष, निर्माण समितिका संयोजक र समाजसेवी टीकाराम दाहालकाे समेत उपस्थिति रहेको थियो ।
उक्त रकम बैंकमा अक्षयकोषकाे रूपमा राखिने र वार्षिकरूपमा प्राप्त ब्याज मध्ये ७० प्रतिशत ब्याज रकम छात्रवृत्ति प्रदान गर्न प्रयोग गरिने विद्यालयका प्रधानाध्यापक बटुकलाल तामाङले बताए तामाङका अनुसार बाँकी ३० प्रतिशत ब्याज रकम मूलधनमा थप्दै लगिनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिन यस अक्षयकोषले सहयोग पुर्याउने विश्वास लिएको प्रधानाध्यापक तामाङले बताए ।





