गैंडाकोट, १० वैशाख ।
मौलाकाली केवलकार यही वैशाख १८ गतेदेखि विधिवतरूपमा सञ्चालनमा आउने भएको छ ।
गैंडाकोट- १ मा निर्माण भएको केवलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैंडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा डब्बा रहेका छन् ।
केवलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्म करिव ४ मिनेटको समय लाग्छ । केवलकार सञ्चालनसँगै मौलाकालिकाको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज भएको छ ।
केवलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० कोठाको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् ।
केवलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केवलकार प्रालिले जनाएको छ ।
नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको केवलकारसहितको नयाँ पर्यटकीय गन्तव्य निर्माण काठमाडौँको चन्द्रागिरिमा निर्माणसम्पन्न भई सञ्चालनमा रहेको छ ।
त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केवलकार प्रालिद्वारा प्रबर्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ । उक्त केवलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनिले जनाएको छ ।
आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।





