भरतपुर, १० वैशाख ।
३०अौं पारिजात स्मृति दिवस २०८० को अवसरमा साहित्य सङ्गम चितवनले विभिन्न स्रस्टालाई सम्मान गरेको छ । सप्तगण्डकी कलेज भरतपुरको सभाहलमा शनिबार भएको कार्यक्रममा कला, भाषा र साहित्यमा विशेष योगदान पुर्याएका ३ जना ख्यातिप्राप्त स्रष्टाहरुलाई पुरस्कृत गरिएको छ ।
पुरस्कृत स्रस्टाहरूमा निबन्धकार रामबाबु घिमिरे, कवि कृष्णप्रसाद पोखरेल र चित्रकार इन्दिरा श्रेष्ठ रहेका छन् ।
समाजसेवी कोमलनाथ चापागाईं, साहित्यकार प्रकाश चापागाईं र उनका परिवारजनद्वारा स्थापित २० हजार रुपैयाँ राशिको गजाधर – डिकुरादेवी-चेतकान्त चापागाईं स्मृति पुरस्कार निबन्धकार रामबाबु घिमिरेलाई प्रदान गरिएको छ । घिमिरे पूर्वी चितवनमा रहेर लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय छन् । वाल्मीकि साहित्य सदनका अध्यक्ष घिमिरे रत्ननगर नगरपालिका वाङ्मय परिषद्का पनि अध्यक्ष हुन् । घिमिरेका `रित्तो आकाश´ उपन्यास, `म हरेस खान थालेछु´ र `केन्द्र र परिधि´ निबन्धसङ्ग्रहलगायतका पुस्तक प्रकाशित छन् ।
त्यसैगरी लेखक, समीक्षक डाक्टर धनेश्वर भट्टराई र उनका परिवारजनद्वारा स्थापित २० हजार रुपैयाँ राशिको नेत्रमाया-मुक्तिनाथ भट्टराई स्मृति पुरस्कार कविवर कृष्णप्रसाद पोखरेललाई प्रदान गरिएको छ भने नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद तथा लेखक रामहरि श्रेष्ठ र उनका परिवारजनद्वारा स्थापित १५ हजार रुपैयाँ राशिको खड्ग नारायण-गणेशलक्ष्मी श्रेष्ठ स्मृति पुरस्कार मूर्तिकार तथा चित्रकार इन्दिरा श्रेष्ठलाई प्रदान गरिने भएको छ । यो पुरस्कार प्रत्येक वर्ष १ जना नारी स्रष्टालाई प्रदान गरिँदै आइएको छ ।
संस्थापकत्रय डा धनेश्वर भट्टराई,कोमलनाथ चापागाईं र रामहरि श्रेष्ठको प्रमुख अातिथ्यमा भएको कार्यक्रममा साहित्यकार मोदनाथ मरहट्टाले महान स्रष्टा पारिजातको बारेमा बोलेका थिए । त्यसैगरी रेशम विरहीले पुरस्कार र संस्थापकहरूको बारेमा, कपिल अज्ञातले स्रष्टा रामबाबु घिमिरेको बारेमा, रामहरि श्रेष्ठले मूर्तिकार इन्दिरा श्रेष्ठको बारेमा, तेजविलास अधिकारीले कवि कृष्णप्रसाद पोखरेलको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा कवि विदुर अधिकारी र सूर्यमणि रेग्मीले कविता वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार धनराज गिरी, होमनाथ घिमिरे र रमेश प्रभातलगायतका साहित्यकारले मन्तव्य व्यक्त गरेका थिए ।
साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईंको सभापतित्वमा भएको कार्यक्रममा डा धनेश्वर भट्टराईले संस्थापकहरूको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । सङ्गमका उपाध्यक्ष राजेन्द्र घायलले स्वागत मन्तव्य दिएका थिए भने सचिव उषा तिवारीले कार्यक्रम सन्चालन गरेकी थिइन् ।





