‘मिस पपुलर च्वाइस’ विधाको भोटिङ सुरु भएसँगै यस वर्षको मिस नेपालको प्रतिस्पर्धा प्रारम्भ भएको छ । द हिडन ट्रेजरका अनुसार दर्शकले २४ जना प्रतिस्पर्धीमध्ये आफूलाई मनपर्ने एकलाई मतदान गर्न सक्नेछन् ।
सर्वाधिक मत ल्याउने एक जनाले सिधै अन्तिम ११ अर्थात् फाइनलमा प्रवेशको मौका पाउनेछिन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले दर्शकले खल्ती एपमार्फत मतदान गर्न सक्ने बताए । बढीभन्दा बढी भोट पाउन प्रतिस्पर्धीले सामाजिक सञ्जालदेखि सार्वजनिक थलोमा समेत अभियान चलाइरहेका छन् भने भोटका लागि अपील गरिरहेका छन् ।
सिधै फाइनलमा प्रवेश गर्न सकिने भएकाले पनि यो विधामा जित निकाल्न सुन्दरीबीच प्रतिस्पर्धा चल्ने गर्छ । फाइनल पुग्ने छोटो बाटो भएकाले पनि मिस पपुलर च्वाइस विधा जित्नैपर्ने दबाब प्रतिस्पर्धीमाझ छ ।
ग्राण्ड फिनाले हुने दिन जेठ १३ गते बेलुका ५ बजेसम्म दर्शकले यो विधामा मतदान गर्न पाउनेछन् । ‘अब अन्य विधाको प्रतिस्पर्धाको लागि पनि हामी तयारीमा छौं,’ निर्देशक कंसाकारले भने । पहिलोपटक मिस नेपालका दुई विधाको प्रतिस्पर्धा यसपटक पोखरामा हुँदैछ ।
यस वर्षको मिस नेपालमा प्रतिस्पर्धी अंकानुसार क्रमशः राइना मजगैंया, स्मारिका कार्की, प्रज्ञा बज्राचार्य, कविना श्रेष्ठ, आयुषा महर्जन, कीर्ति बर्ताैला, सुधा देवकोटा, प्रसिद्धि शाह, सृष्टि हाडा, सदीक्षा थापा, वर्षा गौतम, उन्नति गुरुङ, आयुष्मा बराल, रजनी मिश्र, होलिस्का कोइराला, स्वीञ्जा सुनाम, श्रीच्छा प्रधान, गृष्मा अधिकारी, अपेक्षा खतिवडा, कीर्तिका बस्नेत, ऐश्वर्य श्रेष्ठ, छिरिङ डोल्मा पाख्रिन, सुहानी खड्का क्षेत्री र प्रीतिका खड्का प्रतिस्पर्धामा छन् । अन्तिम २४ जनामा परेकी सुधा देवकोटा चितवनकी चेली हुन् ।
मिस नेपाल–२०२३ का अन्तिम २४ जना प्रतियोगीको घोषणा अघिल्लो शुक्रबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित स्यास सेरेमोनीमा सार्वजनिक गरिएको हो । स्यास सेरेमोनीमा सबैजना प्रतिस्पर्धीलाई प्रतियोगी अंक समेत हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रदान गरे । स्यास ग्रहण गर्दै सुन्दरीहरुले आफ्नो परिचय र रुचिबारे बताएका थिए । प्रतियोगितामा पाइलट, चिकित्सक, व्यवसायी, विद्यार्थी, मोडल पेशाका सुन्दरीले यसपटक मिस नेपालमा भाग लिएका छन् ।
काठमाडौंमा भेला भएका सुन्दरीको लागि व्यक्तित्व विकासदेखि पेजेन्टसम्बन्धी तालिम सुरु भएको छ । मिस नेपाल कोरियोग्राफर रचना गुरुङ शर्माले उनीहरुलाई तालिम दिइरहेकी छन् । आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा ग्राण्ड फिनाले आयोजना हुँदैछ ।
सुधाको अपिल
नमस्कार, म सुधा देवकोटा । प्रतियोगी नम्बर सात । चितवन जिल्लाको सुन्दर सहर भरतपुरबाट । म अहिले २३ वर्षको भएँ , ५ फिट ६ इञ्च अग्ली छु । आमसञ्चार विषयमा स्नातकोत्तर तहमा अध्ययनरत छु ।
म यात्राको माध्यमबाट नयाँ सँस्कृति र दृष्टिकोणहरु अन्वेषण गर्नमा गहिरो रुचि राख्छु । मैले नेपालका विभिन्न ठाउँको आफ्नै अद्वितीय सौन्दर्य र आकर्षण भएको फेला पारेकी छु । म सधैँ विविध पृष्ठभूमिका मानिसहरुको इतिहास, चलन र जीवनशैलीबारे जान्न उत्सुक छु । मलाई नेपाली भाषा पढ्न, लेख्न र बोल्न मन पर्छ । लेखन आत्मअभिव्यक्तिको शक्तिशाली माध्यम हो भन्ने मलाई लाग्छ ।
मैले केही सौन्दर्य सेमिनारहरुमा भाग लिएकी छु, जसले मेरो आत्मविश्वास बढाउन र बोल्ने सीपको विकास गर्नमा मद्दत पुर्याएका छन् । मेरो अन्तिम महत्वाकांक्षा एक सफल पत्रकार बन्ने हो । सञ्चारमाध्यममा आफ्नो लेख्ने र बोल्ने कलाको प्रयोग गरेर विश्वमा सकारात्मक परिवर्तन ल्याउन सक्छु भन्ने मेरो विश्वास छ । मेरो सफलता तपाईंहरुको हातमा छ । मलाई भोट गरेर ‘पपुलर च्वाइस’ मा विजेता बनाइदिनु हुन सम्पूर्ण चितवनवासी, मेरा आफन्त, शुभचिन्तक, समर्थकहरुमा हार्दिक अनुरोध गर्दछु ।





