भरतपुर, १२ फागुन
कायाकैरन दैनिकका प्रधानसम्पादक सूर्यप्रकाश कँडेल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनबाट सम्मानित भएका छन् । इच्छाकामना–७, स्याङ्दीमा शुक्रबार आयोजित फोनिज चितवनको नवौँ वार्षिक साधारणसभा तथा जिल्ला भेलाको अवसरमा प्रधानसम्पादक कँडेललाई सम्मानित गरिएको हो ।
चितवनको पत्रकारिता क्षेत्रमा विगत २५ वर्षदेखि निरन्तर सक्रिय रही समग्र पत्रकारिता क्षेत्रबाट समाजमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै पुराना पत्रकार कँडेललाई सम्मानित गरिएको फोनिज चितवनका उपाध्यक्ष तुलमान गुरुङले बताए । कार्यक्रममा कान्तिपुर टेलिभिजनका राजु चौधरीलाई पनि सम्मानित गरिएको थियो । चौधरीले पत्रकारिताको सुरुवात कायाकैरन दैनिकबाटै गरेका हुन् ।
वार्षिक साधारणसभा तथा जिल्ला भेलाका प्रमुख अतिथि एवं इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पत्रकारप्रति सम्मान र ऐक्यवद्धता रहेको बताए । ‘सबै क्षेत्रमा पछाडि परेका, तल परेका, विपन्न वर्गको आवाज बनेर अगाडि बढ्नुहोस्’ उनले भने, ‘इच्छाकामनाको स्वास्थ्य, शिक्षा, रोजगारी एवं उत्पादन क्षेत्रको बारेमा तपाइँहरुको कलम चलोस् ।’
इच्छाकामनाको पहाडी क्षेत्र दार्जिलिङ र सिक्किमभन्दा कम नभएको दाबी गर्दै गाउँपालिका प्रमुख गुरुङले पर्यटनको विकासबाट गाउँको मुहार फेर्न सकिने बताए । ‘गुरुङ, मगर, चेपाङ, तामाङ, ब्राह्मणलगायतको मिश्रित सँस्कृतिले इच्छाकामना धनी छ । यो ऐतिहासिक ठाउँ हो, देवभूमि हो’ उनले भने ।





