देवचुली, १२ फागुन ।
देवचुली नगरपालिका-१४ का पशुपालक किसानहरूका लागि पशुजन्य सामग्री वितरण गरिएको छ । देवचुली १४ का पशुपालक कृषकहरुका लागि यस आर्थिक वर्षमा समृद्ध पशुपालन कार्यक्रमका लागि विनियोजित रकमबाट डेक्ची, बाल्टी, त्रिपाल, ठेलागाडालगायतका सामग्री वितरण गरिएको हो । देवचुली १४ को आर्थिक सहयोग तथा मिलिजुली पशुपालन समूहको आयोजनामा बिहीवार वडा कार्यालयबाट सो सामग्री कृषकहरुका लागि प्रदान गरिएको देवचुली १४ का वडासचिव दिनेश न्यौपानेले जानकारी दिए ।
मिलिजुली पशुपालन समूहका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतामा भएको सामग्री वितरण कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि देवचुली १४ का अध्यक्ष गोपाल थापा, वडा सदस्यहरु, टोल सुधार समितिका पदाधिकारी, कृषकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले कृषि पेशामा सम्भावना रहेको र चुनौतीहरुलाई समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । कृषकहरुको उत्पादनलाई बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने साथै आयआर्जनका लागि कृषि पेशामा आबद्ध सबैको संरक्षणका लागि नगरपालिका लागिरहेको उनले बताए । रासायनिक मलको बढ्दो प्रयोगले स्वास्थ्यमा प्रतिकुल असर देखिएको बताउँदै नगर प्रमुख न्यौपानेले अर्गानिक खेती गर्न किसानहरु लाग्नुपर्ने बताए ।
देवचुली १४ का १६७ कृषकहरुका लागि सामग्री वितरण गरिएको देवचुली १४ का अध्यक्ष गोपाल थापाले बताए । कम्तिमा ५ वटा बाख्रा वा १ वटा गाई/भैंसी हुनेलाई सामग्री वितरण गरिएको हो । वडामा ५ वटादेखि माथि बाख्रा पाल्ने ३५ जना, १ देखि १० वटासम्म गाई/भैंसी पाल्ने १०६ जना र फर्म दर्ता गरि पाल्ने २६ जना कृषकहरुलाई उनीहरूकै माग अनुसार सामग्री दिईएको थापाले बताए । वडाले कृषकहरुका लागि विविध कार्यक्रम संचालन गरेको उनको भनाई छ ।
कार्यक्रममा बाख्रा पाल्ने किसानहरुलाई त्रिपाल, थोरै संख्यामा गाई/ भैंसी पाल्नेका लागि बाल्टी, डेक्ची र दर्ता भई संचालनमा रहेका फर्महरुलाई ठेलागाडा बाटालगायतका सामग्री वितरण गरिएको थियो । सो कार्यक्रमको सहजीकरण यदुराज शर्माले गरेका थिए भने भीम काफ्लेको स्वागत मन्तव्य रहेको थियो ।





